• ११ जेठ २०८१, शुक्रबार

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

blog

काठमाडौँ,  कात्तिक १९ गते ।  दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

गए राति फ्लाइ दुबइको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपिन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।”

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परी डोटी लामीखाल-८ का पदम थापा, सल्यान शारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुनका-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सपही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा तथा कैलाली बौनियाँ-३ का आशिष चौधरीको शव नेपाल ल्याइएको हो । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

डोटी लामीखाल-८ का पदम थापा, डोटी पचनाली-३ का राजन फुलारा र सल्यान शारदा-३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिनुभयो । रासस