• १ जेठ २०८१, मङ्गलबार

भेरी अस्पतालमा उपचाररत भूकम्पका सबै घाइते खतरामुक्त

blog

घाइतेको शल्यक्रिया गर्दै चिकित्सकहरू । तस्बिर: सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १९ गते । नेपालगन्जको भेरी अस्पतालमा उपचार गराई रहनु भएको ३८ जना घाइते सबै खतरामुक्त रहेको अस्पतालले जनाएको छ । यीमध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भेरी अस्पतालमा उपचाररत पाँच जनाको शल्यक्रिया गरिएको जनाउँदै शल्यक्रिया सफल भएको बताउनुभयो । एक गर्भवती महिलाको बच्चा पेटमा नै मरेकोले उनको पनि शल्यक्रिया गर्ने तयारी भइरहेको उहाँले जनाउनुभयो । 

उहाँले शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका पाँच जना घाइतेको शनिवार राती १२ बजे सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिनुभयो । शल्यक्रियामा भेरी अस्पतालका चिकित्सकहरू डा. प्रकाश थापा र डा. तीर्थेन्द्र खड्कालगायतको सहभागिता थियो । 

प्रकोप व्यवस्थापन टिमका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेका सबै घाइते खतरामुक्त रहेको र उहाँहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत रहनुभएका एक जना घाइतेलाई पनि भेरी अस्पतालमै ल्याउने व्यवस्था गर्न लागिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । 

भेरी अस्पतालमा उपचाररतमध्ये दुई जनालाई आइसियुमा राखेर उपचार भइरहेको र अन्यको सामान्य वार्डमा राखेर उपचार भइरहेको भेरी अस्पतालले जनाएको छ । यसैबिच शनिवार राति थप ६ जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको थियो । राति पौने एक बजे जाजरकोटका २ र रुकुम पश्चिमका ४ जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो ।