• ६ जेठ २०८१, आइतबार

आवाज हरायो, साहसले बाँच्यौँ

blog

राजु लामिछाने/सहदेव बस्नेत

रुकुमपश्चिम/जाजरकोट, कात्तिक १९ गते । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बस्नुभयो र सुत्न जानुभयो । 

रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आउनुभएका रूपकले भन्नुभयो, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।” 

उहाँले थप्नुभयो, “उठ्न खोज्दै थिएँ, माथिबाट काठ, माटो र ढुङ्गा खसेर थिच्यो । एक हात टाउकोमाथि राखिरहेँ । काठ, माटो, ढुङ्गाले मलाई पुर्दै गयो । यस्तैमा म त अचेत भएँछु । अलिपछि झिलिक झिलिक बत्ती बले जस्तो भयो । आँखा खोलेँ । मुख पनि माटोले बन्द गरेको जस्तो भयो । जोडले श्वास बाहिर फालेँ, माटो निस्कियो । अब त मरिने रैछ भन्ने लागेको थियो ।”

भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरीरको माटो, ढुङ्गालाई हटाएको उहाँले बताउनुभयो । उहाँको अनुहार, टाउकोलगायत शरीरका अन्य अङ्गमा चोट लागेको छ । रूपकले भन्नुभयो, “बल गरेर उठेँ । गाउँमा कोलाहल थियो । बुवाआमा भएको कोठामा गएँ । केही भइहाल्यो कि भन्ने ठुलो डर थियो । घरको माथिल्लो तला नै भासिएर उहाँहरू त तल्लो तलामा झर्नुभएछ । घरको सबै काठ, माटो, ढुङ्गाले उहाँहरू पुरिनुभएछ । मलाई के गरौँ, कसो गरौँ भइरहेको थियो । आमाले बचाऊ ! बचाऊ ! भन्दै गुहार मागिरहनुभएको थियो ।” 

बेल्चा लगाएजसरी हातैले माटो, ढुङ्गा र काठ पन्छाएर आमाको कपाल फेला पारेको उहाँले सुनाउनुभयो । औँलाले कोदालाले खनेजसरी आमाको वरिपरिको माटो हटाएको र आमालाई निकालेपछि बुवालाई खोजेको उहाँले स्मरण गर्नुभयो तर आमालाई निकाल्दै औँलाबाट रगत चुहिन थालेको थियो ।

यस्तैमा भाइ पनि चिच्याउँदै आइपुग्यो तर सुरु सुरुमा बचाऊँ ! बचाऊँ ! भनेर कराउने बुवाको आवाज बिस्तारै दबिँदै गएको थियो । बुवाको सासै रोकियो कि भन्ने डरले उहाँलाई सतायो । 

“बुवाको वरिपरिको माटो, काठ र ढुङ्गा हटाउँदै गएँ,” उहाँले भन्नुभयो, ‘छिमेकका पाँच जना साथीलाई बिन्ती गरेर ल्याएपछि बुवालाई निकाल्न सकियो । बेहोस अवस्थामा रहनुभएका बुवाको नाक र मुखभरि माटो कोचिएको थियो । 

खोक्दा नाक र मुखको माटो एक्कासि निस्कियो अनि बुवा ज्युँदै हुनुहुन्छ भन्ने भयो ।” हामी चाइनबगर पुल तरेर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ आइपुग्यौँ । त्यतिन्जेल रुकुमपश्चिमको भागमा उद्धारका लागि ल्याइएका एम्बुलेन्स आइसकेका थिए । गाउँमा धेरै जना उपचारका लागि यही आयौँ । रूपकले भन्नुभयो, “अहिले मेरो बुवा डण्डवीरको अवस्था ठिक भएपछि डिस्चार्ज भएर जानुभयो । म र आमा कल्पना अस्पतालमै छौँ ।” 

परिवारै पुरियो 

यसै गरी भेरी नगरपालिका–३, थाप्लेकी १९ वर्षीय चेतना महर आफू यसरी भूकम्पबाट पनि बाँचौँला भन्ने कल्पना नै नगरेको बताउनुहुन्छ । राति सुतिरहेकी महरको सदरमुकाम खलङ्गास्थित थाप्लेको घर पूरै भत्किए पनि बाँच्न सफल भएकोमा दोस्रो जुनी प्राप्त गरेको जनाउनुभयो ।  पछि सबै गाउँले छिमेकीले आफूलाई जीवितै उद्धार गर्दा त आफूले पुनर्जन्म पाएकोमा निकै खुसी अनुभूति गरेको चेतनाले बताउनुभयो । सँगै सुतिरहेका सबै परिवार जीवितै उद्धार हुँदा सबैले नयाँ जीवन पाएको उहाँको भनाइ छ । आफू र आफ्नो परिवारको उद्धार भएर बाँच्न सफल भए पनि अरूको भने मृत्यु भएकोमा निकै दुःख लागेको चेतनाले बताउनुभयो । 

यस्तै भेरी नगरपालिका–३, खलङ्गा थाप्लेका अर्का २३ वर्षीय शेषकान्त शर्माको पनि घर पूरै भत्किएको छ । घर भत्किँदा शर्मा खाटमुनि छिरेर बाँच्नुभयो । उहाँको टोलमा १६ जनाको मृत्यु भएको थियो । उहाँको कच्ची घरमा शर्मा मात्रै सुत्नुभएको थियो । घर पुरिएको एक घण्टासम्म खाटमुनि नै रहनुभयो ।