• १२ साउन २०८१, शनिबार

जाजरकोट भूकम्प : पीडितलाई कसको कति आर्थिक सहयोग

blog

काठमाडौं, कात्तिक १८ गते । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै सयौं घाइते उपचाररत हुनुहुन्छ । 

भूकम्पमा परी मृत्यु भएका घाइते तथा आपतमा परेकाको उद्वार, उपचार, परिवारलाई आवश्यक राहत तथा सहयोगका लागि सरकार, राजनीतिक दल लगायत विभिन्न सङ्घ–संस्थाहरुले पीडितका लागि सहयोग रकम घोषणा गरेका छन् ।   

सरकारद्वारा जाजरकोट र रुकुम पश्चिममा पाँच-पाँच करोड 

सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्नेगरी जाजरकोट र रुकुमपश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच-पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।

शनिबार गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्वार, उपचार र राहतबारे आवश्यक निर्णय दिन बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । 

कोशी प्रदेश : एक करोड

यसैगरी, कोशी प्रदेश सरकारले भूकम्प प्रभावितको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहयोग रकम कर्णाली प्रदेश सरकारलाई पठाउने निर्णय गरेको हो । 

लुम्बिनी प्रदेश : एक करोड ५० लाख

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि एक करोड ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको बैठकले सो निर्णय गरेको हो । 

बागमती प्रदेश : एक करोड ५० लाख

यस्तै, बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको विभिन्न जिल्लाका भूकम्प प्रभावित नागरिकको उद्वार तथा राहतका लागि एक करोड ५० लाख रुपियाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  

एनसेल : ५० लाख

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूक्म्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहत कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी, एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र डाटा निःशुल्क गर्ने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेस : ५० लाख

नेपाली कांग्रेसले भूकम्प पीडितको उद्वार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यससँगै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल जारी गरेको छ ।

राष्ट्रिय समन्वय परिषद् जापान :  १४ लाख

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पीडितको राहत र उद्वारका लागि करिब १४ लाख (१५ लाख येन) आर्थिक सहयोग गर्ने भएको छ । परिषद्ले ‘भूकम्प पीडित राहत सङ्कलन अभियान’ पनि सञ्चालन गर्ने भएको छ । 

भाटभटेनी : १ करोड ११ लाख ११ हजार १११
भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धारका लागि सो रकम सहयोगको घोषणा गर्नुभएको हो । 
सहयोग जुट्नेक्रम जारी 
यसैगरी जाजरकोट र रुकुमपश्चिममा परेको भूकम्पको असरबाट पीडितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको छ । आज शनिबार माथिको विवरणअनुसार आर्थिक सहयोग जुटे पनि भोलिसम्म थप आर्थिक सहयोगको घोषणा हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसले आफ्नो दलको तर्फबाट आर्थिक सहयोगको प्याकेज घोषणा गरे पनि अन्य दलको आर्थिक सहयोग आधिकारिक रुपमा घोषणा भइसकेको छैन । भोलि आइतबारसम्म थप आर्थिक सहयोगको घोषणा हुनेक्रम जारी रहने विश्वास सरकार तथा सरोकारवाला पक्षले गरेका छन् ।