• ८ जेठ २०८१, मङ्गलबार

भूकम्पपीडितको उद्धारमा जुट्न नेता थपलियाको आग्रह

blog

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, कात्तिक १८ गते । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पबाट प्रभावित नागरिकको व्यवस्थापन तथा उद्धारमा जुट्न आग्रह गर्नुभएको छ । 

बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता थपलियाले भूकम्प प्रभावित क्षेत्रमा जोखिमप्रति सजग रहँदै तत्काल राहत र उद्धारको काममा लाग्न अनुरोध गर्नुभएको हो । 

नेता थपलियाले भूकम्पमा परी कैयौँ व्यक्तिहरू बेपत्ता भइरहेको, स्वास्थ्य केन्द्र र अस्पताल बिरामीले भरिएको तथा मध्यरातिमा भूकम्प गएकाले ठुलो मानवीय क्षति भएकाले स्थानीय स्वास्थ्य संस्थाले थेग्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै बेपत्ताहरूको खोजी, घाइतेको उद्धार, उपचार तथा भूकम्प प्रभावित नागरिकको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकार तथा नेपाली सबैमा आग्रह गर्नुभयो । 

शनिबार एक अपिलपत्र जारी गर्दै उहाँले कात्तिक १७ राति पश्चिम नेपालको जाजरकोट जिल्ला केन्द्रबिन्दु बनाइ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुनाउन पुगेका नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भूकम्पमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना  गर्नुभएको छ । 

‘भूकम्पपछि पराकम्पहरू आइरहन सक्ने जोखिमप्रति सजग रहँदै तत्काल राहत र उद्धारको काममा लाग्न सम्बन्धित सम्पूर्णमा अनुरोध गर्दछु’, थपलियाद्वारा जारी अपिलपत्रमा उल्लेख छ ।