• ८ जेठ २०८१, मङ्गलबार

सकारात्मक कुराको सम्प्रेषणका लागि सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण : मन्त्री डा. महत

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौं, कात्तिक १८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै सकारात्मक बाटोमा अगाडि बढेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सवमा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘अहिले आत्मविश्वास र सकारात्मक कुराको सम्प्रेषण आवश्यक छ । यस विषयमा सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका हुन्छ ।’’

अर्थमन्त्री महतले आर्थिक पत्रकारहरूमा व्यावसायिकताको विकास भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यो व्यावसायिकता आउँदा दिनमा अझ विकसित हुने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक सञ्जालमा नकारात्मक कुरा धेरै बिक्छ, त्यसैले नकारात्मक कुरा बढी आउँछ भन्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘अर्थतन्त्रले विस्तार सकारात्मक बाटो पक्रेको छ । यद्यपि प्राकृतिक विपत्तिलगायत अनेक खाले अप्ठ्यारा देशले व्यहोर्दै आएको छ । यी परिस्थिति आउनसक्छ यसका बाबजुद दिगो योजना बनाएर हामी अगाडि बढेर आर्थिक वृद्धि गर्नुपर्ने छ ।’’

‘‘विभिन्न कालखण्डमा देखापरेको समस्याहरू, कतिपय नीतिगत र प्राथमिकताका छुट्याउने काममा चुकेका कारणले हाम्रो अर्थतन्त्रमा समस्या आयो । एकाएक खडा भएको समस्या होइन,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘यो समस्या निराकरणका लागि केही समय अवश्य लाग्छ । अहिले बाह्य सुचांकहरु राम्रो छ । रेमिट्यान्स बढेको छ । पर्यटक आगामन बढेको छ । यसले हाम्रो आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुग्छ ।’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘घरजग्गा कारोबारमा हिजोको दिनमा बढी लगानी भयो । अत्यधिक मूल्य वृद्धि भयो, त्यही रूपमा मूल्य बढेको बढै हुने अवस्था थिएन । विभिन्न आर्थिक परिवेश पनि त्यो दिगो थिएन । कित्ताकाटका समस्या थिए, त्यो हटेको छ, विस्तार यो व्यवसाय पनि अघि बढ्दै गएको छ ।’’