कमल शर्मा
दैलेख, कात्तिक १८ गते । जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धारका लागि छिमेकी जिल्ला दैलेखबाट चिकित्सक सुरक्षाकर्मी र सासंदहरुको टोली प्रस्थान गरेको छ ।
प्रतिनिधि सभाका सदस्य अम्मरबहादुर थापा, पूर्वसांसद रवीन्द्रराज शर्मासहित नेपाली सेना र सशस्त्र र जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट चिकित्सकसहितको टोली जाजरकोट प्रस्थान गरेको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धर्मराज रेग्मीसहितको डाक्टरको टोली औषधि र एम्बुलेन्स लिएर जाजरकोट हिँडेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले डाक्टर धर्मराज रेग्मीसहित तीन जना डाक्टरको टोली भूकम्प प्रभावित क्षेत्रमा हिँडेको जानकारी दिनुभयो ।
थप उद्धारका लागि नेपाली सेनाको ३१ र सशस्त्र प्रहरी बलका २१ जनाको सुरक्षा टोली पनि जाजरकोट प्रस्थान गरेको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । त्यस्तै, नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल, पार्टीको प्रदेश अध्यक्ष गुलावजंग शाहसहितको टोली पनि जाजरकोट प्रस्थान गरेको एमाले दैलेखका अध्यक्ष प्रेम बुढाले जानकारी दिनुभयो ।
शुक्रबार राति गएको ६.४ रेक्टरको भूकम्पको ठुलो धक्का दैलेखमा महसुस भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
भूकम्पमा परी चारवटा घरमा क्षति पुगेको छ भने भागदौडका क्रममा तीन जना घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइते हुनेमा महावु गाउँपालिका–५ सल्लेरीका वर्ष ३३ को मानबहादुर शाही, नारायण नगरपालिका –६ वर्ष ४३ नमराज सुबेदी, नारायण नगरपालिका ३ बस्ने वर्ष ४३ वर्ष प्रजापती धमला रहेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
त्यस्तै, दैलेख जिल्लाको गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका बाट चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा हिँडेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमलप्रसाद आर्चायले कति घरमा क्षति भएको भन्ने विवरण आइ नसकेको बताउनुभयो । उहाँले प्रहरी चौकी र इलाका प्रहरी चौकीबाट समेत प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।