• १२ मंसिर २०८१, बुधबार

गर्भवतीको घरमा निलो झण्डा

blog

गर्भवती महिलाको घरमा गाडिएको निलो झण्डा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक १८ गते । यसवर्ष गर्भवती हुनुभएका महिलाको घरमा निलो झण्डा गाड्ने काम सुरु भएको छ । गर्भवतीको घर पहिचान गरी स्वास्थ्यकर्मीलाई चेकजाँच गर्न र घरमा गर्भवती भएको महिला जानकारी गराउन स्वास्थ्य चौकीले झण्डा गाड्ने काम सुरु गरेको हो । 

सिमकोट गाउँपालिका–१ र २ को ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराले वडाभरिका गर्भवती महिलाको पहिचान गर्ने र पत्ता लागेका गर्भवती महिलाको घरमा पहिचानका लागि निलो झण्डा गाड्ने काम भएको बताउनुभयो ।

उहाँले वडाभरिमा हाल १९ जना गर्भवती भएको र उहाँहरूको घरको छतमा निलो झण्डा गाड्ने काम भएको बताउनुभयो । स्वास्थ्य चौकी अन्तर्गत टोल र वडा भरिमा कति जना गर्भवती रहेको छन् त्यसको बारेमा सबैलाई जानकारी गराउन झण्डा गाड्ने कार्य गरिएको बताउनुभयो । 

घरपरिवारका सदस्यबाट पनि गर्भवती महिलाको हेरचाह, रेखदेख र गर्भजाँच गराउन झण्डा गाड्ने कार्य गरिएको उहाँले बताउनुभयो । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिकाका आठ वटै वडाका पाँच स्वास्थ्य चौकीमा यो कार्यक्रम लागु गरिने जनाएको छ ।

स्वास्थ्य चौकीले छ देखि २३ महिना मुनिका ७१ जना बालबालिकाको पोषणमा सुधार ल्याउन लिटो सहयोग गरेको छ । त्यसैगरी १९ जना गर्भवती र सुत्केरी महिलालाई लिटो र कोशेली उपहार प्रदान गरिएको छ । गर्भवतीको चेकजाँच गर्ने कार्य समेत गरिएको छ ।