• १३ मंसिर २०८१, बिहिबार

औषधिसहितको चिकित्सक टोली जाजरकोटमा

blog

भूकम्पमा परी घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानको टोली जाजरकोट जाँदै । तस्बिर : प्रतीक शर्मा ‘इच्छुक’

प्रतीक शर्मा ‘इच्छुक’

सल्यान, कात्तिक १८ गते । भूकम्पका कारण घाइते भएकाको उपचार गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्ला अस्पताल सल्यानका डाक्टरसहित स्वास्थ्यकर्मीको टोली जाजरकोट पुगेको छ । 

शनिबार बिहान १० बजे औषधिसहित सो टोलीलाई जाजरकोट पठाएको हो । घाइतेलाई सहज रूपमा उपचार गर्न तथा डाक्टर र स्वास्थ्यकर्मीको अभाव हुन नदिन अस्पतालको डाक्टर र स्वास्थ्यकर्मीको टोली जाजरकोट पठाएको जनाएको छ । जिल्ला अस्पताल सल्यानबाट दुई डाक्टर, दुई स्टाफ नर्स र एक प्यारामेडिक्सलाई जाजरकोट पठाइएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापन तथा प्रमुख डा. अर्जुन बुढा मगरले डाक्टर तथा स्वास्थ्यकर्मीको टिमले आजदेखि जाजरकोट पुगेर भूकम्पमा घाइते भएकाको उपचारमा जुट्ने बताउनुभयो । उहाँकाअनुसार भूकम्पबाट घाइते भएकाको उद्धारका लागि तत्काल चाहिने सामग्रीलगायत औषधिसमेत पठाएको छ ।

सल्यानबाट जाजरकोट पुगेको स्वास्थ्यकर्मीको टोलीले केही दिन बसेर जाजरकोटबाट सेवा दिने बताइएको छ । यसैबिच सल्यान वनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्णबहादुर बुढाथोकी, उपमेयर पुरुषोत्तम आचार्यसहित स्वास्थ्यकर्मी, औषधि, राहत सामग्री सँगै दुईवटा एम्बुलेन्स र गाडी लिएर बिहानै जाजरकोट पुग्नुभएको छ । 

भूकम्प प्रभावित जिल्लासँग सीमा जोडिएका सल्यानका कुमाख गाउँपालिका र दार्मागाउँपालिकाले रुकुम चौरजहारी अस्पतालसम्म भूकम्पमा परी घाइतेको उद्धारका लागि एम्बुलेन्स पठाएका छन् । 

भूकम्प प्रभावित क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै कुमाख गाउँपालिकाको एम्बुलेन्सलाई रुकुमपश्चिमस्थित चौरजहारी मिसन अस्पतालको समन्वय र सहजीकरणमार्फत घाइतेको उद्धार एवम् उपचारका लागि विभिन्न अस्पताल पुगाउन बिहानै त्यसतर्फ पठाइएको गाउँपालिका अध्यक्ष मानवहादुर बुढाथोकीले बताउनुभयो ।