• १२ साउन २०८१, शनिबार

भूकम्पका घाइतेका लागि रगत सङ्कलन

blog

फाइल तस्बिर

जानकी (बाँके), कात्तिक १८ गते । जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । 

बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । घाइते बिरामीलाई आज बिहान ३ बजेदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको हो । 

प्रजिअ श्रवणकुमार पोखरेलका अनुसार २६ जनाको उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड–१ का ३३ वर्षीय टेकबहादुर पुनको उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । रासस