• ११ जेठ २०८१, शुक्रबार

दार्चुलामा दसैँ विशेष सुरक्षा योजना लागू : ३९० प्रहरी परिचालन

blog

दार्चुलामा दसैं विशेष सुरक्षा योजना लागू । । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी
दार्चुला, कात्तिक ४ गते । 
दार्चुलामा दसैँ विशेष सुरक्षा योजना लागू भएको छ । सुरक्षा योजनाअन्तर्गत यसपालि ट्राफिक नियम उल्लङ्घन, जुवातास र मापसे लगायत सम्भावित जोखिमका क्षेत्रमा निगरानी गरिने प्रहरीले जनाएको छ ।

दार्चुला सदरमुकाम खलङ्गा, शैल्यशिखरको गोकुलेश्वर र मार्माको लटिनाथमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । खलङ्गा पुलघाटसहित सबै सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सीमा क्षेत्र र भिडभाड हुने क्षेत्रमा हेल्प डेस्क सञ्चालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सम्भावित जोखिमको नियन्त्रणका लागि दार्चुला जिल्लाभरी ३९० जना नेपाल प्रहरी परिचालन गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले समेत सुरक्षा प्रदान गरिरहेको छ । चाडपर्व केन्द्रित सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर जिल्लाभरीमा ३९० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो ।

‘‘यसपालि पनि दसैँ तिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवन लगायत आपराधिक गतिविधि नियन्त्रण प्राथमिकतामा राखेको छ,’’ उहाँले भन्नुभयो, ‘‘साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाइएको छ ।’’

आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना सङ्कलनमा सादा पोसाकमा समेत प्रहरी खटाउने र भिडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा सदरमुकाम र सहरी क्षेत्रमा बसोबास गर्ने ठुलो जनसङ्ख्या गाउँघरमा गइरहेको छ । यात्रु ठगिनबाट जोगाउन विभिन्न ठाउँमा ट्राफिक र जनपदसहित हेल्प डेस्क राखिएको छ । जसले यात्रुलाई सचेत गराउँछ । ठाउँ ठाउँमा छड्के जाँचको व्यवस्था समेत गरिएको छ । मानिसहरू दसैँका लागि गाउँघर जाने क्रम बढेसँगै दार्चुला सदरमुकाम खलङ्गासहित बजार क्षेत्रमा भिडभाड घट्दै गएको छ ।

शैक्षिक संस्था र सरकारी कार्यालय बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । फुुलपातीदेखि सरकारी कार्यालय समेत बन्द हुने भएकाले सदरमुकाम क्षेत्र सुनसान हुने गर्दछ ।

दसैँको समयमा गाडीमा धेरै भीड हुने भएकाले सुरक्षित यात्राका लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको प्रहरीले जनाएको छ ।