• ६ जेठ २०८१, आइतबार

जगदुल्ला जलविद्युत आयोजना : उत्पादन अनुमतिको अन्तिम चरणमा

blog

एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, कात्तिक ३ गते ।
विद्युत् विकास विभागले डोल्पा जिल्लामा निर्माण हुन लागेको एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी गरेको छ । विभागले आयोजनाको प्रवर्द्धक जलदुल्ला हाइड्रोपावर कम्पनीको नाममा उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो ।

विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत् नियमावली, २०५० को नियम १५ बमोजिम आवश्यक जाँचबुझ गरी नियम १६ मा भएको व्यवस्था बमोजिम प्रवर्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको विभागले जनाएको छ ।

विभागले सम्भाव्यता अध्ययन प्रतिवेदन तथा वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा उत्पादन अनुमतिपत्र दिनुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भएमा अबको ३५ दिनभित्र प्राप्त हुने गरी लिखित राय÷सुझाव पेश गर्न सम्बन्धित सरोकारवालासमक्ष आग्रह गरेको छ ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भइसकेको छ । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा आवासगृह निर्माणको काम भइरहेको छ । आगामी वर्षदेखि आयोजनाको संरचना निर्माणको काम सुरु गरी २०८६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । असोज ११ गते सरकारले लिखित राय÷सुझाव पेश गर्न सम्बन्धित सरोकारवालासमक्ष आग्रह गरेको आयोजनाका कार्यकारी निर्देशक सञ्जय सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले उत्पादन अनुमति दिने तयारी गरेको छ । अब अन्य बाँकी काम सुरु गछौँ ।’’

इआइए स्वीकृतिको अन्तिम चरणमा
जगदुल्ला जलविद्युत् आयोजनाको इआइए स्वीकृति अन्तिम चरणमा पुगेको छ । जगदुल्ला जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृतिका लागि फाइल अन्तिम चरणमा पुगेको हो । वातावरण मन्त्रालयबाट इआइए स्वीकृत गर्नेगरी कागजपत्रको अन्तिम फाइल उठाइएको छ ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयमार्फत प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पठाइएको थियो । अब इआइएको प्रक्रिया पूरा भएपछि मात्रै आयोजनाका अन्य काम अघि बढ्नेछन् । इआइए प्रतिवेदन स्वीकृतीको अन्तिम चरणमा पुगेको आयोजनाका निर्देशक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम फाइल माग गरेको मन्त्रालयले स्वीकृति दिने भएपछि आयोजनाका अन्य काम अघि बढाइएको छ । उत्पादन अनुमतिपत्र दिनका लागि सरकारले ३५ दिने सूचना जारी गरेकाले छिट्टै इआइए स्वीकृत गर्ने तयारी गरिएको हो । आयोजनाले २०७४ सालमा विद्युत् विकास विभागबाट सर्वे अनुमति पाएको थियो । यसपछि २०७८ सालमा नै आयोजनाको डीपीआरको काम सम्पन्न भएको छ ।

डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका हुँदै बग्ने जगदुल्ला नदीमा निर्माण हुने आयोजनाबाट एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ । आयोजनाको विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिका–७ इलमा निर्माण हुने छ । जगदुल्ला गाउँपालिका–१ हुरीकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरी सुरुङमार्गमार्फत विद्युत् गृहमा पानी खसालिने छ । सुरुङ ६ दशमलव १ किलोमिटर लामो हुनेछ । यसको साथै तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत् उत्पादन गृह निर्माणसमेत गरिने निर्देशक सापकोटाले बताउनुभयो ।

यहाँबाट उत्पादन भएको विद्युत् सिधैँ रूकुम–पश्चिमको नेपाल विद्युत् प्राधिकरणको बाँफिकोट सबस्टेशनमा जोडिने छ । राष्ट्रिय प्रणालीमा जोड्नका लागि करिब ४५ किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्छ । आयोजनादेखि नेपाल विद्युत प्राधिकरणको बाँफिकोट सबस्टेसनसम्म प्रसारणलाइन निर्माण गरिनेछ ।