• ३ असार २०८१, सोमबार

महिला फुटबलको उपाधि जनप्रियले जित्यो

blog

विजेता जनप्रिय माध्यमिक विद्यालयको टिम । तस्बिर: अमृत

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ २५ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको जनप्रिय माध्यमिक विद्यालयले दोस्रो दोभान कप खुल्ला छात्रा फुटबलको उपाधि हात पारेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसके पछि टाई ब्रेकरमा धकेलिएको खेलमा दरबाङकी गोलरक्षक अस्मिता परियारले उत्कृष्ट खेल प्रदर्शन गर्दा उपाधि हात पारेको हो । 

सेमिफाइनलमा पनि अस्मिताले उत्कृष्ट बचाउ गर्दै फाइनल पुगेको जनप्रिय माध्यमिक विद्यालयले फाइनलमा पनि गोलकिपरकै उत्कृष्ट प्रदर्शन सँगै उपाधिमाथि कब्जा जमाएको हो । म्याग्दीको सदरमुकाम सम्पन्न अन्तर माध्यमिक विद्यालय खुल्ला छात्रा फुटबल प्रतियोगिताको फाइनलमा बेनी बजारको न्यु वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दरवाङले उपाधि हात पारेको हो । टाई ब्रेकरमा जनप्रियकी गोलरक्षक अस्मिताले एउटा प्रहारलाई उत्कृष्ट तवरले बचाउ गर्नुका साथै टोलीको पाँचौँ प्रहार आफैले गर्दै उत्कृष्ट गोल गर्नुभएको थियो ।

जनप्रिय माध्यमिक विद्यालयले सेमिफाइनलको खेलमा बेनी सामुदायिक माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै न्यु वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले प्रकाश माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । न्यु दोभान यूथ क्लबले आफ्नो पूर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा आयोजना गरेको ‘९–ए साइड’ फुटबल प्रतियोगिताका विजेता र उपविजेता लाई बेनी नगरपालिका प्रमुख सुरत केसीले नगद ४५ हजार र २५ हजार रुपियाँ  नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यु वेस्ट प्वाइन्ट आवासीय माविकी निकिता सिंह ठकुरी, सर्वाधिक गोलकर्ता प्रकाश माविकी प्राप्ति मगर, उत्कृष्ट गोलरक्षक जनप्रिय माविकी अस्मिता परियारलाई नगद तीन हजार रुपियाँ सहित ट्रफि प्रदान गरिएको थियो । त्यसै गरी प्रतियोगिताकै अनुशासित टिम बेनी सामुदायिक माध्यमिक विद्यालयलाई पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरणमा बेनी नगर कार्यपालिका सदस्य एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जिल्ला समन्वय समिति म्याग्दीका समन्वय अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र फुटबल सङ्घ म्याग्दीका अध्यक्ष कुमार बानियाँलगायतको पुरस्कार वितरण समारोहमा सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापनमा बोल्दै नगर प्रमुख केसीले खेलकुदमा पर्याप्त बजेट विनियोजन नहुँदा खुल्ला मञ्चको विस्तारमा ढिलाइ भएको बताउनुभयो । न्यु दोभान यूथ क्लबका अध्यक्ष उपेन्द्र गिरीले छात्राहरूलाई फुटबल खेलप्रति आकर्षित गर्ने उद्देश्यले खेल आयोजना गरेको बताउनुभयो । प्रतियोगितामा म्याग्दी र बागलुङ जिल्लाका गरी १० विद्यालयले सहभागिता जनाएका थिए ।