• ३ असार २०८१, सोमबार

अन्तरमाध्यमिक विद्यालयस्तरीय महिला फुटबल सुरु

blog

म्याग्दीको बेनीमा भइरहेको ९–ए साइड फुटबल प्रतियोगिताको झलक । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ २३ गते । महिला फुटबलरको पहिचान बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा अन्तरमाध्यमिक विद्यालयस्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

न्यू दोभान युवा क्लब बेनीले आयोजना गरेको ९–ए साइड फुटबल प्रतियोगितामा म्याग्दी तथा बागलुङका गरी १० माध्यमिक विद्यालयले सहभागिता छ । प्रतियोगिताको उदघाटन गर्दै बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछानेले महिलामा भएको खेल प्रतिभाको उजागर गर्न प्रतियोगिताहरु हुनुपर्ने बताउनुभयो ।

विद्यालयस्तरबाटै हुने खेलकुदले भविष्य कोर्न र आफ्नो लगाब थाहा पाउन पनि सहज हुने उहाँको भनाइ छ । विद्यालयस्तरीय खेलकुदबाटै पाइला चालेका खेलाडी नै भोली राष्ट्रिय टिमबाट खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

प्रतियोगिताको पहिलो चरण अन्तर्गतको खेलमा बेनी सामुदायिक विद्यालयले बेनी बोर्डीङलाई ९–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा प्रकाश माध्यमिक विद्यालय बेनीले ओएसिस स्कुल बागलुङलाई ८–० गोल अन्तरले पराजित गरेको छ ।

जनप्रिय माध्यमिक विद्यालय मालिका गाउँपालिका –६ दरवाङले ३–० गोल अन्तरले गलेश्वर आदर्श बोर्डीङ स्कुल गलेश्वरलाई पराजित गरेको छ । बालमन्दिर माध्यमिक विद्यालय बेनीलाई ५–० गोल अन्तरले पराजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले दोस्रो चरणमा प्रवेश गरेका छन् । 

प्रतियोगितामा पहिलो हुनेले ४५ हजार रुपियाँ र दोस्रो हुनेले २५ हजार रुपियाँ नगद, मेडल र ट्रफि प्राप्त गर्ने क्लबका अध्यक्ष उपेन्द्र गिरीले बताउनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई पाँच हजार रुपियाँ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही तीन–तीन हजार रुपियाँका दरले नगदसहित ट्रफि प्रदान गरिने छ ।