• ११ मंसिर २०८१, मङ्गलबार

स्थानीय विद्यार्थी बाहिर, अन्य जिल्लाकाले भरिन्छन् विद्यालय

blog

यदुप्रसाद भट्ट

मनाङ, भदौ ८ गते । घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय भरिने गरेका छन् । भौगोलिक रूपमा विकट रहेको यहाँको हरेक काम बाहिरबाट आएका कामदारले गर्ने गरेका छन् । 

माथिल्लो क्षेत्रमा स्थानीयका भन्दा कामदारका बालबालिका विद्यालयमा देखिन्छन् । न्यून सङ्ख्यामा स्थानीय बालबालिका जिल्लामै अध्ययन गर्छन् भने अभिभावकसँगै आएका कामदारका बालबालिका विद्यालयमा अध्ययन गरिरहेका हुन्छन् । 

मनाङका विभिन्न भागमा काम गर्ने क्रममा आफ्ना बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गरी अध्ययन गराउने गरेको पाइएको छ । भ्राका आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद अधिकारीले कहिले विद्यार्थी भरिभराउ हुने र कहिले भने शून्य हुने अवस्था रहेको बताउनुभयो । स्थानीय विद्यार्थी नभएको, अधिकांश स्थानीयका बालबालिका विदेश र जिल्लाबाहिर नै बसोबास गर्ने र पढाउने हुँदा यस्तो भएको उहाँको भनाइ छ ।  

यहाँको शैक्षिक गुणस्तर र प्राकृतिक प्रकोपका कारणले पनि मनाङका बालबालिका जिल्लाबाहिर रहने गरेका छन् । अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द घिमिरेले अघिल्लो वर्ष विद्यार्थी कम रहेको तर यस वर्ष विद्यार्थी बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष ५० विद्यार्थी पनि थिएनन्, यस वर्ष बढेका छन् ।” 

गत वर्षसम्म कोभिडको प्रभाव पनि परिरहेकाले धेरै काम हुन नसक्दा कामदार कम भएका थिए । यस वर्ष काम ह्वात्तै बढेको र कामदार बढ्दा विद्यार्थी सङ्ख्या पनि बढेको छ । इसिडीमा स्थानीय बालबालिका अध्ययन गरिरहेका भए पनि माथिल्ला तहमा भने स्थानीय बालबालिका एक जना वा शून्य रहने गरेका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्क अनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, चामे गाउँपालिकामा ५५, नासोँ गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० जना विद्यार्थी रहेका छन् । कक्षा ६ देखि १२ सम्म पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मतिलाल चपाईंले बताउनुभयो । उहाँका अनुसार कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा ७२ रहेको छ । चामे गाउँपालिकामा १७६, नासोँ गाउँपालिकामा १७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको छ । 

मनाङमा इसिडीमा १६६, कक्षा १ देखि ५ सम्म १४६, कक्षा ६ देखि ८ सम्म १०९, कक्षा ९ र १० मा ८३, कक्षा ११ र १२ मा ४१ जना छन् । शैक्षिक सत्र २०८० को तथ्याङ्कलाई हेर्दा यहाँ अध्ययन गर्ने कुल विद्यार्थी सङ्ख्या ५४५ जना छन् । मनाङ ङिस्याङ गाउँपालिकामा ११७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक रहेका छन् । 

चामे गाउँपालिकामा २४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासोँ गाउँपालिकामा १५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी जम्मा १६१ जना शिक्षकले पठनपाठन गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

गोरखाबाट मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राकामा काम गर्दै आएकी माया गुरुङले अघिल्लो वर्ष वडा नम्बर ३ ङावलमा काम गर्दा ङावल आधारभूत विद्यालयमा भर्ना गराएको र अहिले त्यहाँ काम सकिएपछि यहीँको पायक पर्ने भ्राका आधारभूत विद्यालयमा छोराछोरीलाई पढाइरहेकी बताउनुभयो । काम गर्ने ठाउँ फेरिइरहने भएकाले वर्षैपिच्छे आफूसँगै बालबालिकाको विद्यालय फेरिरहेको उहाँले बताउनुभयो ।