• ११ मंसिर २०८१, मङ्गलबार

कामदारका बालबालिकाले चल्छन् मनाङका विद्यालय

blog

मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालय ।

यदुप्रसाद भट्ट

मनाङ, भदौ ६ गते । घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय सञ्चालन हुनेगरेका छन् । भौगोलिक विकटता रहेको यहाँको हरेक काम बाहिरबाट आएका कामदारले गर्ने गरेका छन् । 

विशेषगरी माथिल्लो क्षेत्रमा स्थानीय बालबालिका भन्दा कामदारका बालबालिका विद्यालयमा बढी छन् । न्यून मात्रामा स्थानीय बालबालिका जिल्लामै अध्ययन गर्छन् भने अभिभावकसँगै आएका कामदारका बालबालिका विद्यालयमा अध्ययन गरिरहेका हुन्छन् । मनाङका विभिन्न भागमा काम गर्नेक्रममा आफ्ना बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्नागरी अध्ययन गराउने गरेको पाइएको छ । यहाँका आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद अधिकारीले कहिले विद्यार्थी भरिभराउ हुने र कहिले शून्य हुने अवस्था रहेको बताउनुभयो । 

भ्राकामा स्थानीय विद्यार्थी नभएको, अधिकांश स्थानीयका बालबालिका विदेश र जिल्ला बाहिर नै रही जहाँ बसोबास उतै बालबालिका पढाउने हुँदा यस्तो भएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । विकट स्थानको शैक्षिक गुणस्तर र प्राकृतिक प्रकोपका कारणले पनि मनाङ बालबालिका जिल्ला बाहिर रहनेगरेका छन् । 

अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द घिमिरेले अघिल्लो वर्ष विद्यार्थी कम रहेकामा यस वर्ष विद्यार्थी बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष ५० विद्यार्थी पनि थिएनन्, यस वर्ष बढेका छन् । गत वर्ष यस क्षेत्रमा धेरै काम नभएर विद्यार्थी कम थिए । यस वर्ष काम बढेपछि विद्यार्थी पनि बढेका छन्’ उहाँले बताउनुभयो । 

गत वर्षसम्म कोभिडको प्रभाव पनि परिरहेकाले धेरै काम हुन नसक्दा कामदार कम भएका थिए । यस वर्ष काम ह्वात्तै बढेको र कामदार बढ्दा विद्यार्थी सङ्ख्या पनि बढेको छ । शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, चामे गाउँपालिकामा ५५, नासोँ गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी रहेका छन् । 

कक्षा ६ देखि १२ सम्म पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मतिलाल चपाईंले बताउनुभयो । उहाँका अनुसार कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा ७२ रहेको छ । चामे गाउँपालिकामा १ सय ७६, नासोँ गाउँपालिकामा १ सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको छ । 

मनाङमा इसीडीमा १ सय ६६, कक्षा १ देखि ५ सम्म १ सय ४६, कक्षा ६ देखि ८ सम्म १ सय ९, कक्षा ९ र १० मा ८३, कक्षा ११ र १२ मा ४१ रहेको छ । शैक्षिक सत्र २०८० को तथ्याङ्कलाई हेर्दा यहाँ अध्ययन गर्ने कुल विद्यार्थी सङ्ख्या ५ सय ४५ देखिन्छ ।

मनाङ ङिस्याङ गाउँपालिकामा ११७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक रहेका छन् । चामे गाउँपालिकामा २४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासोँ गाउँपालिकामा १५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि ९ गरी जम्मा १६१ शिक्षकले पठनपाठन गराउँदैआएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

गोरखाबाट मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकामा काम गर्दै आएकी माया गुरुङले अघिल्लो वर्ष वडा ३ ङावलमा काम गर्दा ङावल आधारभूत विद्यालयमा भर्ना गराउनुभएको थियो । 

त्यस्तै, गोरखाकै सुकमाया गुरुङले मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँबाट कामको सिलसिलामा वडा ५ भ्राकामा काम गर्न सरेपछि बालबालिकाको विद्यालय फेर्नुपरेको बताउनुभयो ।