• ११ मंसिर २०८१, मङ्गलबार

संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी

blog

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ ५ गते । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा पुनः तालाबन्दी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुग्नेगरी सहमति गरिएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । 

अखिल क्रान्तिकारीका नेता विष्णु चौधरी, अखिल क्रान्तिकारी नेपाल संस्कृत विश्वविद्यालयका प्रमुख सचिव अभयप्रताप चौवे र अखिल क्रान्तिकारी केन्द्रीय आयुर्वेद विद्यापीठ मूल इकाई समितिका गणेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दी गरिएको जानकारी दिनुभयो । 

विज्ञप्तिमार्फत नेपाल विद्यार्थी सङ्घसँग गरिएको सम्झौता रद्द गर्न समेत माग गरिएको छ । विभिन्न निहुँमा विद्यार्थीले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदैआएको छ । यसअघि नेविसंघको दाङ जिल्ला समितिले गत असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा गरेको तालाबन्दी करिब दुई महिनापछि खुलेको थियो ।  

त्यसैगरी असार ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको थियो । यसअघि विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी हुँदा असार २१ गते हुने भनिएको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षक र असार २७ देखि हुन थालेका सहप्राध्यापकका परीक्षाहरू स्थगित भएका थिए । 

सेवा आयोगमा लगाइएको ताला खुलेपछि आइतबार आयोगले कर्मचारी र प्राध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो । परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । 

सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठेका बेला कुनै छानबिन नगरी परीक्षाको सूचना सार्वजनिक गरिएकोमा आपत्ति जनाउँदै अखिल क्रान्तिकारीले तत्काल कुनै काम नगर्न चेतावनी दिएको छ । तालाबन्दीपछि विश्वविद्यालयका सबै कामहरू ठप्प भएको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिनुभयो ।