• ११ जेठ २०८१, शुक्रबार

भूकम्पले भत्काएका अधिकांश विद्यालय सुविधासम्पन्न

blog

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निर्माण भएको एक सरकारी विद्यालयको भवन । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन ३१ गते ।
वि.सं २०७२ मा गएको भूकम्पले भत्काएका सिन्धुलीका अधिकांश सामुदायिक विद्यालयका भवन सुविधासम्पन्न बनेका छन् ।

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत भूकम्पले क्षतिग्रस्त विद्यालयहरु सुविधासम्पन्न निर्माण भएका हुन् । नयाँ भवनमा कम्प्युटर ल्याब, विज्ञान ल्याब, लाइब्रेरी, बाल कक्षा, प्रयोगशाला, प्रशासनिक कक्ष, भान्सा कोठा, बालमैत्री, अपाङ्गमैत्री, खानेपानीसहितको विद्यालयलाई चाहिने जति सबै सुविधा रहेको सम्बन्धित विद्यालयले जनाएका छन् ।

दुधौली नगरपालिकास्थित ज्ञानकुञ्ज मावि पचरुखीका प्रधानाध्यापक प्रेमप्रसाद भटराईले भूकम्पले गर्ल्याम्म ढालेको उक्त विद्यालयका भवन यतिखेर करिब सात करोड रुपियाँको लागतमा सुविधासम्पन्न निर्माण भएको सुनाउनुभयो । उहाँका अनुसार नब निर्मित दुई वटा भवनमा २४ कोठा छन् ।

नयाँ भवनमा विद्यार्थीलाई आवश्यक पर्ने कम्प्युटर ल्याब, विज्ञान ल्याब, लाइब्रेरी, बाल कक्षा, प्रयोगशाला, प्रशासनिक कक्ष, भान्सा कोठासहितको सबै सुविधा छ । ‘‘अहिले विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्,’’ उहाँले भन्नुभयो, ‘‘यो वर्षदेखि तीन वर्षे डिप्लोमा इन्जिनियरिङको पढाइ पनि सञ्चालन गरेका छौं ।’’

नयाँ भवन सुविधा सम्पन्न बनेर पढनपाठनमा सहज भए पनि प्रशासनिक खर्च धान्न भने सकस भएको प्रधानाध्यापक भटराईको गुनासो छ ।उहाँका अनुसार सरकारले सामुदायिक विद्यालयलाई प्रशासनिक खर्च भनी प्रावि तहलाई १५ हजार, आधारभूत तहलाई २० हजार र मावि तहलाई २५ हजार रुपियाँ वार्षिक रुपमा उपलब्ध गराउँदै आएको छ । तर उक्त बजेटले विद्यालयको प्रशासकिन खर्च धान्नै पुग्दैन । उक्त विद्यालयमा विद्युतको मासिक खर्च मात्रै २० हजारदेखि २१ हजार रुपियाँसम्म उठ्ने गरेको छ ।

फिक्कल गाँउपालिका–२ पोखरीस्थित मावि सुन्तलेले पनि नयाँ स्वरुप पाएको छ । भूकम्पले भत्काएको उक्त विद्यालयको नयाँ आधुनिक भवन एसियाली विकास बैंकको पाँच करोड २४ लाख २५ हजार ५०८ रुपियाँ सहयोगमा निर्माण भएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर लुङ्गेलीले भूकम्प गएको तीन वर्षसम्म खुल्ला आकाशमुनि हावाहुरी झेलेर पढ्दै आएका विद्यार्थी आधुनिक सुविधासहितको नयाँ भवनमा पढ्न पाउँदै निकै खुशी भएको बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत विद्यालयमा पक्कि भवन, तीन कोठे ट्रष्ट भवन र दुई कोठे ट्रष्ट भवन सबै सुविधासहित निर्माण भएको छ ।

कमलामाई नगरपालिका शिक्षा शाखा प्रमुख शङ्कर लुइँटेल पनि भूकम्पपछि पुनर्निर्माण भएका सामुदायिक विद्यालयका भवनहरु सुविधासम्पन्न र आकर्षक बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘भूकम्पपछि बनेका भवनमा विद्यार्थीलाई चाहिने सबै सुविधा देखिन्छ । भवन हेर्दै विद्यालय जाने वातावरण बनेको छ ।’’

त्यसोत २०७२ सालको भूकम्पले भत्काएका र चर्काएका ५५१ विद्यालयमध्ये ३८८ वटा सामुदायिक विद्यालयमा नयाँ आधुनिक भवन निर्माण भएका छन् । जिल्लामा रहेका कुल ५७५ वटा विद्यालयमध्ये २०७२ सालमा आएको बिनासकारी भूकम्पबाट ५५१ वटा विद्यालय प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

निर्माण गरिएका ३८८ विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ३०३ वटा, निर्माण व्यवसायीमार्फत ४८ वटा र गैर सरकारी संस्थामार्फत ३७ वटा विद्यालय निर्माण भएको एकाइ प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रभावित बाँकी १६३ विद्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा नपरेकाले निर्माण हुन नसकेको हो ।

सिन्धुली जिल्लामा भूकम्प प्रभावित विद्यालय निर्माण गर्ने प्रोजेक्ट (राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला  आयोजना कार्यान्वयन एकाइ शिक्षा) बाहिरी सकेकाले बाँकी भूकम्प प्रभावित विद्यालय निर्माण हुने, नहुने ठेगान नभएको बताइएको छ ।

अहिलेसम्म भूकम्प पछिको विद्यालय पुनर्निर्माणमा दुई अर्ब ६६ करोड रुपियाँ खर्च भई सकेको छ । भूकम्प प्रभावित विद्यालयमध्ये २६ वटा एसियाली विकास बैंक, ३७ वटा अन्य आईएनजिओ र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।