• १२ जेठ २०८१, शनिबार

गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा

blog

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त ।

काठमाडौं, साउन २९ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले मङ्गोलियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन कप छनोट २०२४ प्रतियोगिताका लागि उहाँलाई मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकमा थम्मन भुसाललाई नियुक्त गरिएको हो । प्रशिक्षकद्वयलाई एन्फाका महासचिव किरण राईले आज नियुक्ति पत्र प्रदान गर्नुभयो ।

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । समूह ‘डी’ को खेल आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मङ्गोलियामा हुनेछ ।

प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

मुख्य प्रशिक्षक बस्नेतले यसअघि सन् २०२२ मा किर्गिस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोटमा पनि नेपाली टोलीको प्रशिक्षक समाल्नुभएको थियो । रासस