गोकर्ण पौडेल
तुलसीपुर, साउन ११ गते । जिल्लाका स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेर पाठ्यपुस्तक तयार पार्न थालेका छन् । जिल्लाका दश वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन् ।
तीमध्ये तुलसीपुर उपमहानगरपालिकाले पाठ्यपुस्तक नै प्रकाशन गरेर विद्यार्थीको हातमा पुगाएको छ । दंगीशरण र बबई गाउँपालिकाले पाठ्यक्रम कार्यान्वयनमा ल्याउन बाँकी छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख चक्रबहादुर भण्डारीले कक्षा ४, ५ र ८ को पाठ्यपुस्तक प्रकाशन गरिएको र कक्षा ६ र ७ को पुस्तक सम्पादनको काम भइरहेको बताउनुभयो ।
उहाँले कक्षा १, २ र ३ को पाठ्यपुस्तक शैक्षिकसत्र २०८१ मा सबै विद्यालयमा पुग्नेगरी निर्माणको काम भइरहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा –४ मा रहेको गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरका शिक्षक प्रमोद न्यौपानेले स्थानीय पाठ्यपुस्तक प्राप्त भएपछि विद्यार्थी शिक्षण सिकाइमा सहज भएको बताउनुभयो ।
पाठ्यक्रम तयार पारेर शैक्षिकसत्र २०७९ मै कार्यान्वयनमा ल्याएको लमही नगरपालिकाले पाठ्यपुस्तक प्रकाशनको तयारी गरेको छ । राप्ती गाउँपालिका शिक्षा शाखाका प्रमुख विश्वास विश्वकर्माका अनुसार १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छपाइको काम अन्तिम चरणमा पुगेको र कक्षा ४ देखि ८ सम्मको शैक्षिकसत्र २०८१ तयार भइसक्ने बताउनुभयो ।
राजपुर गाउँपालिकाले पनि शैक्षिकसत्र २०७९ सालमा पाठ्यक्रम कार्यान्वयनमा ल्याए पनि पाठ्यपुस्तक भने अझै प्रकाशन गरेको छैन । बंगलाचुली गाउँपालिकाले २०७९ देखि पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
शिक्षा शाखाका अधिकृत ओमप्रकाश केसीले पाठ्यपुस्तक छपाइको कामका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । गढ्वा गाउँपालिकाले पाठ्यक्रम तयार पारेर पाठ्यपुस्तक निर्माणको अन्तिम तयारीमा पुगेको जनाएको छ ।
शान्तिनगर गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम गत वर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो । कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम भदौदेखि कार्यान्वयनमा ल्याउने भएको छ । दंगीशरण गाउँपालिकाले अझै पाठ्यक्रम नै निर्माण गर्न सकेको छैन ।
दंगीशरण गाउँपालिकाका शिक्षा अधिकृत विनोद अधिकारीका अनुसार स्थानीय पाठ्यक्रम तयार भए पनि मस्यौदा मात्र तयार पारेको बताउनुभयो । स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक लेखन कार्य गर्दै आउनुभएका महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदर्शन रिजालले स्थानीय पाठ्यक्रमबाट विद्यार्थीमा स्थानीय भाषा, संस्कृति, पर्यापर्यटन, जैविक विविधता, स्थानीय सीपको ज्ञान प्राप्त हुने बताउनुभयो ।