• ११ मंसिर २०८१, मङ्गलबार

एसईई उत्तीर्ण छात्रछात्रालाई सम्मान

blog

सम्मान ग्रहण गर्दै एसईई उत्तीर्ण छात्रा ।

काठमाडौं, असार ३० गते। परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ। शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमबीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरेको हो।

 एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार चार जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा उनीहरुलाई कार्यक्रमका बीच प्रमाणपत्रसहित विशेष सम्मान गरिएको हो। छात्रतर्फ जेशन नेपाललाई विशेष सम्मान गरिएको छ। 

यस्तै सामुदायिक विद्यालयबाट शीला नेपाल र किरण घिमिरे सर्वोत्कृष्ट रहेकामा उहाँहरुलाई सम्मानित गरिएको हो। यस्तै पालिकाभरबाट एसईईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको अभियानका संयोजक सुशील भट्टले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीले एसईईमा सफल विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनौट गर्न सुझाव दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले विद्यार्थीलाई आफ्नो रुचि अनुसार विषय छनोट गर्न आग्रह गर्नुभयो। 

कार्यक्रमलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले शिक्षाको क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रम अघि सारेको बताउनुभयो। उहाँले हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव रहेको उल्लेख गर्दै नगरपालिकाले सोहीअनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो।

यसैगरी उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालले एसईईमा सफल विद्यार्थीलाई शुभकामना दिँदै उज्वल भविष्यको कामना गर्नुभयो। काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले विद्यार्थीलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्नेगरी उच्च शिक्षा अध्ययन गर्न सुझाव दिनुभयो। 

कार्यक्रममा बैंकर मनोज ज्ञवालीले विद्यार्थीले कसरी भविष्यको सही बाटो निर्धारण गर्ने र अध्ययनको दायरालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव दिनुभएको छ। यस्तै कार्यक्रममा संयोजक सुशील भट्टले परिवर्तन नेपाल शिक्षा, स्वास्थ्यसहित सामाजिक र जनसरोकारका विषयमा निरन्तर क्रियाशील भइरहने बताउनुभयो। 

कार्यक्रममा तारकेश्वर क्षेत्रका जनप्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि, समाजसेवीलगायतको सहभागिता थियो।