• ५ जेठ २०८१, शनिबार

जाजरकोटका बालबालिका कुपोषित

blog

जाजरकोट समाचारदाता

जाजरकोट, चैत १८ गते । भेरी नगरपालिका–३ का तीन वर्षीय सुवास सुनारको तौल उमेरअनुसार १४ किलो हुनुपर्ने हो तर उहाँको तौल सात किलो रहेको छ। जन्मिँदै कुपोषण भएका सुवास राम्रोसँग बोल्न पनि सक्दैनन्। 

जिल्ला अस्पताल जाजरकोटका स्टाफ नर्स विष्णु शाहका अनुसार सुवासको शारीरिक र मानसिक विकासमा बाधा पुगेको छ।

जाजरकोटकै छेडागाड नगरपालिका–१२, पोखराकी १८ वर्षीया टीका सिंहले साउन ५ मा पहिलो बच्चालाई जन्म दिनुभयो। जन्मेकै दिन शिशुको मृत्यु भयो। शिशुको तौल एक हजार ३०० ग्राम मात्रै थियो। कम तौल भएका कारण नवजात शिशु बाँच्न नसकेको कार्कीगाउँ स्वास्थ्य चौकीकी सिनियर अनमी जुना शाहीले बताउनुभयो।  

जाजरकोटस्थित भेरी र छेडागाडमा कुपोषणले पारेको असरको यी प्रतिनिधि उदाहरण मात्रै हुन्। विभिन्न तथ्याङ्कले जाजरकोटमा कुपोषित बालबालिका धेरै रहेका देखाएको छ। गरिबी र चेतनाको अभावमा पोसिलो खानेकुरा नपाउँदा गर्भमै कुपोषण हुने र त्यसका कारण कम तौल तथा पुड्कोपनालगायत समस्या देखिने गरेका छन्। 

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अनुसार जिल्लामा एक वर्षमुनिका चार हजार ७७४, दुई वर्षभित्रका नौ हजार ५२५ र पाँच वर्षमुनिका २३ हजार ७२४ बालबालिका छन्। दुई वर्षभित्रमा बालबालिकाको २४ पटकसम्म तौल लिनुपर्ने स्वास्थ्य मापदण्ड छ तर जाजरकोटमा त्यहाँका बालबालिकाको तीन पटक मात्र तौल लिने गरिएको छ। 

पर्याप्त तौल मापनको काम तथा जाँचको अभावमा परिवारका सदस्यले आफ्ना बालबालिका कुपोषित भएको थाहै पाउँदैनन्। जाजरकोटमा गत आर्थिक वर्षमा ६५९ कुपोषित बालबालिकाले शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रममा भर्ना भएर उपचार लिएका थिए। चालु आर्थिक वर्षमा साउनदेखि पुससम्म मध्यम खालको कुपोषणका १५२ र कडा कुपोषणका ८४ गरी कुल २३६ बालबालिकाले उपचार गराइरहेका छन्।

जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नयाँ तौल लिएका दुई वर्षसम्मका नौ हजार १२५ बालबालिकामध्ये ९२१ जना पोषणको दृष्टिकोणले जोखिम तथा अति जोखिम अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। 

जिल्ला अस्पतालका अधिकृत तथा स्वास्थ्यकर्मी गङ्गा रेग्मीले स्वास्थ्य संस्थामा आएकाको मात्र यो सङ्ख्याले धेरै बालबालिका तथ्याङ्कमा छुट्ने र कुपोषणको दर अझ धेरै रहेको हुनसक्ने बताउनुभयो। 

स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा आर्थिक वर्ष २०७६/७७ मा २७ जना, आव २०७७/७८ मा ३२ जना, २०७८/७९ मा १८ जना गरी ७७ जना नवजात शिशुको मृत्यु भएको तथ्याङ्क छ। 

सोही अवधिमा सुत्केरी हुन नसकेर आठ जना गर्भवती महिलाको ज्यान गएको छ। यस्तै चालु आवमा पाँच जना शिशुले ज्यान गुमाइसकेका छन्। आर्थिक वर्ष २०७८/७९ मा जन्मपछि नौ जना शिशुको मृत्यु र १९ जना मृत शिशु जन्मिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ। चालु आवमा २० जना मृत शिशु जन्मिएको विवरण रहेको छ।