• ७ जेठ २०८१, सोमबार

भ्यालेन्टाइनमा पोखरा प्रेमिल गन्तव्य

blog

पोखरा महानगरपालिका–३१ मा रहेको माझिकुनाबाट देखिएको वेगनासताल। पछिल्लो समय माझिकुना जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ। तस्बिर : सन्तोष

सन्तोष सुवेदी

प्रत्येक दिन प्रेम दिवस हो, एउटा सत्य जानिराख,

प्रेमभन्दा मूल्यवान् केही अरू हुँदैन ठानिराख,

सभ्यताको आकाशभर कति घाम उदाए, जून उदाए,

प्रेमको इतिहास चोखो लेखिनुपर्छ ठानीराख।

साहित्यकार सरुभक्तले प्रेम दिवससम्बन्धी सिर्जना गरेको यी हरफले ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस केवल एक दिनको रौनक नभएको तर हरेक दिनको उत्सव भएको प्रस्ट्याउँछ। प्रेम दिवसको आगमनसँगै अहिले देशका विभिन्न सहर झैँ पोखरा पनि प्रेमिल भएको छ। 

सहरभन्दा अलि पर। कुनै प्राकृतिक सुन्दरताले ढाकिएको ठाउँ। आधुनिक पुस्ता प्रेम व्यक्त गर्न वातावरणले पनि साथ दिने डेटिङ स्पोट खोज्ने गरेको पाइन्छ। मान्छेको धेरै चाप नहोस् जसले गर्दा रोमान्स गर्न, मायालुसँग जिस्कन, कुराकानी गर्न यस्ता गोप्य ठाउँ तन्नेरीको रोजाइमा पर्ने गर्छन्।

पोखरा, आफैमा प्रेमिल ठाउँ हो। यहाँ थुप्रै यस्ता ठाउँहरू छन्, जहाँ दैनिक मायालु जोडीहरू माया साटिरहेका हुन्छन्। फेवातालको पानीलाई साँची राखी कसम खाएका हुन्छन्। शान्ति स्तुपाको पवित्र स्थललाई छोएर जिन्दगी कटाउने वाचा गर्छन्।

अहिले एकान्तमा घुम्न र बस्न रमाउने युवायुवती कि त रेस्टुरेन्ट कि फिल्महलमा थन्किन बाध्य छन्। लेकसाइडमा होटेल सञ्चालन गर्दै आउनुभएका ईश्वरी पाण्डेले सुरक्षाको हिसाबले अहिले पहिलाको तुलनामा सहज भएको बताउनुभयो। ‘‘पहिला धेरै होटेलहरु छड्के चेकिङ हुँदा होटेल आउन डराएको अवस्था थियो। तर अहिले  प्रेमी जोडी  आउने गरेका छन्,’’ उहाँले भन्नुभयो। 

फेवातालको किनार, पावर हाउस, पामे, सराङकोट, डेभिड फल्स, माटेपानी गुम्बा, शान्ति स्तुपा, वसुन्धरा पार्क, भद्रकाली, हेम्जा, पुम्दीभुम्दी, माछापुच्छ्रे भ्यू टावर, पोखराको फूलबारीबाट भलाम जाने सडकमा पृथ्वीनारायण क्याम्पस परिसर, सेतीको डिल तथा कालीखोलाको डिलमा गाला र कुम जोड्दै प्रेम साटासाट गरिएका दृश्य देख्न सकिन्छ। यीबाहेक पोखरा बजारभन्दा अलि पर बेगनास ताल वरपर पनि रमाउने ठाउँ छन्। त्यस्तै पोखराबाट २५ किलोमिटर कुदेर केही पर धम्पुसको गाउँले परिवेशमा पनि  प्रेमिल जोडीको आकर्षण हुने गरेको पाइन्छ। दिउँसोको तुलनामा साँझ त्यहाँ मस्ती गर्ने बढी हुन्छन्।

पोखराका केही गन्तव्य

लभ्ली डाँडा

नाम नै लभ्ली भएर पनि हुन सक्छ पोखराको पुरानो मायालु भेटिने गन्तव्य हो लभ्ली डाँडा। पर्स्याङमा अवस्थित लभ्ली डाँडा प्रेममा बाँधिनेका निम्ति उत्कृष्ट रमणीय स्थल हो। चिसो हावाको वेगसँगै युवायुवती डाँडा चढ्ने गर्छन्।

माछापुच्छ्रे हिमाल र पोखराको सेरोफेरो हेर्दै डाँडाको टुप्पोसम्म प्रायः जोडी पुग्ने गर्छन्। लभ्ली डाँडा प्रेम गर्नेको पहिलो घुम्ने गन्तव्य हो। तर बिहान मर्निङवाक जानेबाहेक उतिसाह्रो युवायुवती जोडी बाँधेर बसेका भेटिँदैनन्। सुरक्षाको दृष्टिबाट पनि कतिपय जोडी घेराबन्दीमा भएको खबर आउने गरेकै हुन्थ्यो। अहिले त माया गर्ने डाँडाको सुन्दरतामा ह्रास ल्याउने काम भइरहेको छ। त्यहाँ विभिन्न घर, भवन बन्ने क्रम पनि बढेको छ।



पामे

पछिल्लो समय पोखराको व्यस्त ठाउँ बनेको छ, पामे। पोखराको लेकसाइडस्थित हल्लनचोकबाट पामे जाने सडकमा आफ्ना मायालुसँग मस्त जोडी बग्रेल्ती देखिन्छन्। यहाँ सुन्दर फेवाताल, वरिपरिका डाँडाकाँडा अनि आकाशमा उडिरहेका प्याराग्लाइडिङ हेर्दै बसाइलाई अविस्मरणीय बनाउन सकिन्छ। पामे जाने यो मार्गमा स्थानीय युवा–युवतीदेखि पोखरा घुम्न आएकाहरूसमेत आ–आफ्ना प्रेमी–प्रेमिकासँग भेटिन्छन्।


सराङकोट

सूर्योदय र सूर्यास्त हेर्न मात्र होइन, पोखरा आसपासको सौन्दर्य नियाल्न जोडी सराङकोट पुग्छन्। पोखराबाट सराङकोट जाने सडकका विभिन्न घुम्तीमा हरेक दिन यस्ता गतिविधि भइरहेका हुन्छन्। यो हाइवेमा आफ्ना मायालुसँग मस्त जोडी मात्र भेटिँदैनन् कलेज ड्रेसमै रोमान्स गर्ने टिनएजरको सङ्ख्या पनि उस्तै हुन्छ।

फूलबारी–भलाम

भलाम जाने सडकमा पृथ्वीनारायण क्याम्पस परिसर, सेतीको डिल तथा कालीखोलाको डिलमा गाला र कुम जोड्दै प्रेम साटासाट गरिरहेका दृश्य देख्न सकिन्छ। दिउँसोको तुलनामा साँझ त्यहाँ मस्ती गर्नेहरू बढी हुन्छन्।

काहुँडाँडा

यहाँबाट हिमाल प्रस्टसँग देख्न सकिन्छ। पोखरा बजारबाट सात किमी टाढा रहेको काहुँडाँडामा धरहरा छ। जहाँ पुगेर हिमाल र पोखरा बजारलाई पृष्ठभूमिमा राखेर कैयौँ जोडी सेल्फी लिइरहेका हुन्छन्।


पावर हाउस 

बिरौटाबाट केही तल झरेपछि फेवा पावर हाउस आउँछ। पावर हाउस झर्ने सिँढीमा गएर फोटो खिच्ने थुप्रै भेटिन्छन्। त्यहाँ पार्क पनि रहेको छ। त्यहाँबाट पनि हरियाली मनोरम दृश्य देखिने हुँदा प्रेमी/प्रेमीका मनोरञ्जन लिने गरेको पाइन्छ। सहरबाट शान्त र रमणीय ठाउँ भएकोले पनि मायाका जोडी एक न एक पटक त्यहाँ पुग्ने गरेका हुन्छन्।

रेस्टुरेन्ट–फिल्महल 

प्रेम दिवसका बेला आफ्ना प्रेमी–प्रेमिकासँग डेटिङ जाने रहर सबैलाई हुन्छ। तर एकान्त स्थल सुरक्षित नहुँदा उनीहरू दिक्क पनि छन्। स्थानीय मात्र होइनन्, मुलुकका विभिन्न भागबाट पनि युगल जोडीहरू आफ्नो प्रेमलाई बलियो पार्न डेटिङ स्थल खोज्दै पोखरा आउँछन्। तर सुरक्षाको चिन्ता उनीहरूमा पनि छ।  चियाएर बस्नेहरू उनीहरूको एकान्त भङ्ग गर्ने अनेक प्रयत्न गर्छन्। कतिपय डेटिङ स्थलमा मारपिटसमेत हुने गरेको सुनिन्छ। त्यही भएर डेटिङ जोडी बिच्किएका छन्। एकान्त र रमणीय ठाउँ डेटिङ स्पटका लागि असुरक्षित बन्दै गएपछि जोडीहरू होटेल–रेस्टुराँ तथा चलचित्र हलतिर धाउन थालेका छन्।


अन्य 

सिद्धार्थ हाइवे अन्तर्गत पर्ने पोखरा भ्यू प्वाइन्ट, माछापुच्छ्रे भ्यू प्वाइन्ट लगायतमा पनि पुगेको भेटिन्छ। स्याङ्जाको भालु पहाडसम्म पनि आफ्ना प्रेमी–प्रेमिकासँग समय बिताउने पनि त्यत्तिकै हुन्छन्। पछिल्लो समय निकै चहलपहल बढ्ने ठाउँका पुम्दीकोटको शिवमूर्ति पनि आकर्षण हुने ठाउँ हो। याम्दी घट्टेखोला, नौडाँडा, लुम्ले आदि विभिन्न ठाउँमा प्रेमिल जोडीहरू फेला पर्छन्। राखी मिजुरे सडकअन्तर्गत टाइगरटप डाँडा पनि मायालु जोडीको पुग्ने गन्तव्य हुन्। सेती नदी, फुर्सेखोला किनार, महतगौंडा, ढुङ्गेसाँघु पोखाराका गन्तव्य हुन्।