• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

blog

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक । तस्बिर : अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी सचिवालय

काठमाडौं, माघ २१ गते । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीसँग छलफलका लागि आफूहरु खुला रहेको जानकारी दिनुभयो । नेता पौडेलले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको जानकारी दिनुभयो ।

नेता पौडेलले  भन्नुभयो, ‘‘पार्टी सङ्गठनबारे छलफल भयो, दुई महिना सबै फिल्डमा जाने, पार्टी पङ्क्तिबाहेक जनता पनि भेटेर दुई महिनापछि त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ । किनभने दुई महिनाभित्रमा राष्ट्रपतिको चुनाव, उपराष्ट्रपतिको चुनाव जे हुने भइसक्छ । त्यसपछि हामी केन्द्रीय समितिको बैठक बसेर अघि बढ्छौँ । त्यसका लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने, त्यसपछि बाँकी रहेका काम अगाडि बढाउँछौँ ।’’

सत्ता साझेदार दल नेकपा (एमाले)लाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको जानकारी पनि उहाँले दिनुभयो ।

‘‘सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ । सबै पक्षसँग हामी खुला छौँ, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेका छन्, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो ।,’’ नेता पौडेलले  भन्नुभयो, ‘‘गृहमन्त्रीको बारेमा केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढङ्गले अघि बढ्नेछौँ । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो । समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समयपछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ ।’’

त्यस्तै, पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताउनुभयो । पार्टी सङ्गठन सदृढीकरणका लागि दुई महिने सङ्गठन सुदृढीकरणको अभियान चलाउने बताउनुहुँदै यस अभियानमा चुनावी अन्तर्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताउनुभयो ।

‘‘सुरुका दिनमा अध्यक्ष र अन्य केही कमरेडले केही प्रस्ताव राख्नुभयो, त्यसको छलफलमा नेताहरुले भाग लिनुभयो । त्यसका आधारमा हामीले विभिन्न समयमा हुने समूहमा होमवर्क गरौँ । आज यसको निष्कर्ष निकालेका छौँ । दुई महिनापछि सिसिको बैठक बस्ने, सम्पूर्ण निर्णय सिसिले गर्ने भन्ने निर्णय भयो । सबै फिल्डमा जाने र सिसिको निर्णय गर्ने र त्यसका लागि सबै कमिटी मञ्चको बैठक बस्ने निर्णय भयो ।,’’ उपाध्यक्ष महराले भन्नुभयो, ‘‘चुनावको समीक्षाको विषयमा ठाउँठाउँमा घात, अन्तर्घात भयो, यसको निमित्त फिल्डको रिपोर्ट बुझ्ने कुरा भएको छ । माघको २६ गतेदेखि ५ गतेभित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरुको समन्वय समितिको बैठक बस्ने, र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिइ बुझ्ने निर्णय भएको छ । अध्यक्ष प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीका रुपमा केही निर्देशन र केही वक्तव्यहरु छन्, त्यसलाई तल लैजाने निर्णय गरेका छौँ । हाम्रो पार्टी २६ गतेदेखि फिल्डमा जान्छ ।’’

उपाध्यक्ष महराले पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताउनुभयो ।