छिन्चु समाचारदाता
सुर्खेत, पुस २८ गते । कर्णाली प्रदेश सभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ । सभामुख चयनका लागि ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी एमालेका विनोदकुमार शाहले आगामी माघ १ गते दिउँसो १ बजे बैठक बोलाउनुभएको छ ।
निर्वाचन प्रयोजनका लागि पुस ३० गते मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको प्रस्तावउपर दाबी विरोधको तालिका तय गरिएको छ । यस्तै माघ १ गते उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन ११ बजेदेखि सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा गर्ने कार्यतालिका रहेको प्रदेश सचिवालयले जनाएको छ ।
प्रदेश भागबन्डामा सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार कर्णाली नेकपा (माओवादी केन्द्र)को भागमा परेसँगै एमालेले सभामुख पाउने पक्का भएको छ । सरकारको नेतृत्वका लागि आफ्ना छुट्टै दाबी पेस गर्दै आएका दल माओवादी र एमालेबीच टकरावको स्थिति उत्पन्न भए पनि सभामुख र उपसभामुखका बारेमा भने दुवै दलभित्र अहिलेसम्म कुनै छलफल भएको छैन । सभामुखमा प्रदेश सभामा ज्येष्ठ सदस्यको हैसियतले बैठक सञ्चालन गर्दै आएका एमालेका विनोदकुमार शाह नै बन्ने एमालेका नेताहरू बताउँछन् तर शाहले आफू सभामुख नबन्ने बताउँदै आउनुभएको छ ।
एमालेका १० सांसदमध्ये संसदीय दलका नेता यामलाल कँडेल, प्रदेश अध्यक्ष विनोदकुमार शाह र प्रदेश उपसचिव टेकराज पछाई पछाडि हट्ने देखिएको छ । यसो हुँदा यामलाल निकट समानुपातिक सांसद सुर्खेतकी नन्दा गुरुङ सभामुख बन्ने सम्भावना पनि बढेको छ । नन्दाको विकल्पमा मुगुका प्रत्यक्षतर्फबाट विजयी भएर आउनुभएका जितबहादुर मल्ल रहेको एमाले स्रोतको दाबी छ । कँडेलले पार्टीमा आफू अनुकूल लाइन निर्माण गर्न नन्दालाई नै अगाडि सार्ने सम्भावना छ । तर, पार्टी केन्द्रले विनोदकुमार शाहलाई नै सभामुख बनाउने गरी प्रदेश कमिटीलाई रुलिङ गर्ने आधिकारिक जानकारी गराइसकेको एमालेका एक नेताले बताए ।
यता उपसभामुख पाएको नेकपा (माओवादी केन्द्र)मा कालीकोटकी यशोदा न्यौपाने र डोल्पाकी उर्मिला विश्वकर्माको नाम चर्चामा छ । माओवादी केन्द्रका एक प्रदेश सभा सदस्यका अनुसार पार्टीभित्र आधिकारिक छलफल नभए पनि न्यौपाने र विश्वकर्मामध्ये एक जना उपसभामुख हुने पक्का छ । न्यौपाने र विश्वकर्मा समानुपातिक सांसद हुनुहुन्छ । ४० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस १४, नेकपा (माओवादी केन्द्र) १३, नेकपा (एमाले) १०, नेकपा समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक र स्वतन्त्रबाट एक सांसद छन् ।