दोलखा समाचारदाता
दोलखा, पुस ३ गते । नेपालमा रोजगार अभावका कारण विदेश तथा सहर पस्ने क्रम बढेसँगै दोलखाका गाउँहरू युवाविहीन बन्न थालेका छन् । युवा अभावमा कृषि तथा व्यवसायमा प्रत्यक्ष असर परेको छ ।
यहाँको उत्तरी शेर्पा बस्तीका रूपमा चर्चित खार्ताल गाउँमा रोजगारीका अवसर नभएकै कारण अहिले युवाले गाउँ छोड्ने क्रम बढेको बिगु गाउँपालिका खार्तालका ६१ वर्र्षीय लाक्पा शेर्पाले बताउनुभयो ।
गाउँमा रोजगारीको अवसर भइदिएको भए बुढेसकाल लागेका आमा बाबुलाई छोडेर विदेश जाने अथवा सहर पस्ने रहर कसैलाई नहुने दुखेसो पोख्दै शेर्पाले भन्नुभयो, यहाँका युवा अहिले कोही विदेश त कोही सहर पसेका छन् । छोरीबुहारीहरू पनि छोराछोरी बोर्डिङमा पढाउन भन्दै सहरमै बस्ने गरेका छन् । गाउँका अधिकांश घरहरूमा ताला लागेका छन् ।
विशेष गरी शेर्पाहरूको बसोबास भएको खार्ताल गाउँमा ८० घर रहेकोमा आधाभन्दा कममा मात्र मानिस रहेका छन् । पहिले चौँरीपालनलाई आफ्नो मुख्य पेसा बनाएका खार्तालका शेर्पाहरूले अहिले चौँरी पाल्न छाडेका छन् । पहिले घरैपिच्छे चाैँरीपालन हुन्थ्यो । अहिले मुस्किलले दुई/चार गोठ चौँरी छन् । कच्ची सडक गाउँको माझबाट गएको छ । भूकम्पपछि नयाँ घरहरू बनेका छन् । केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा पुगेको छ । सदरमुकामसँगको दूरी छोटिएको छ । गाउँमा सामान ल्याउन सजिलो भए तापनि रोजगारी नभएका कारण युवाले गाउँ छोडिरहेका छन् ।
च्यामार शेर्पाले भन्नुभयो, सबै कुराको सुविधा भयो, रोजगरी नभएर युवा विदेश भासिए, गाउँ रित्तियो सरकारले रोजगारीको व्यवस्था मिलाए गाउँ पहिलेजस्तै हुने थियो । बाटो पक्की बनाउने तथा स्थानीय खोलाहरूमा पुल हाल्ने, उत्पादन सरकारले नै खरिद गरिदिने व्यवस्था गरिदिए रोजगारीका अवसर बढ्ने थिए ।