शालिग्राम नेपाल
चितवन, पुस ३ गते । विवाह भोज खाएर बिरामी भएपछि अनुसन्धान गर्दा प्रदूषित पाइएपछि चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपियाँ जरिवाना गर्न सिफारिस गरिएको छ ।
होटलले खुवाएको खानामा दिसामा पाइने ब्याक्टेरिया देखिएको, भान्छाकोठामा फोहोर भेटिएको, भण्डारण कक्षमा राख्ने सामग्रीलाई उचित व्यवस्थापन नगरेको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वको टोलीले होटललाई कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसमक्ष बुझाउन तयार गरिएको प्रतिवेदनमा रिसोर्टलाई तीन लाख रुपियाँ जरिवाना गर्न सिफारिस गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “हामीले अनुगमन गर्दा पनि त्यहाँ फोहोर देखेका थियौँ, भोज खाएर बिरामी भई उपचारका लागि गएका बिरामीको परीक्षण गर्दा चार जनामा दिसामा पाइने ब्याक्टेरिया भेटिएको थियो । प्रयोगशालाको विवरणमा नै त्यस्तो देखिएपछि हामीले जरिवानासहित कारबाही गर्न सिफारिस गरेका हौँ ।” जरिवाना गराएर सरसफाइका लागि सात दिन म्याद दिनसमेत सिफारिस गरेको उहाँले जानकारी दिनुभयो ।
उपभोक्ता संरक्षण एेन, २०७५ को दफा १६ (२)क अनुसार होटलले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्य वस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले सोही एेनको दफा ३९ (१) ख अनुसार तीन लाख रुपियाँ जरिवानाको सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।
होटलमा उपभोग्य मिति सकिएको अखाद्य वस्तु भेटिएको, ढोका तथा झ्यालमा जाली नभएको, भान्सामा झिँगा पाइएको, कामदारको सरसफाइ सन्तोषजनक नभएको, भान्सा र भाँडा माझ्ने ठाउँसँगै भएको, होटलको अनिवार्य अभिलेख नभएको पनि प्रतिवेदनमा छ ।
प्रतिवेदन पुस ३ गते आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पेस गर्ने सहायक प्रजिअ शर्माले बताउनुभयो । उक्त होटलमा गत मङ्सिर २३ र २४ गते विवाह भोज खाएकाहरू बिरामी परेका थिए । नवलपुरको गैँडाकोट नगरपालिकाबाट भरतपुरमा विवाहका लागि आएका दुवै पक्षका आफन्तले भोज खाएका थिए । दुलही र दुलहा दुवै पक्षका गरी पाँच सय जना बिरामी भएका थिए । बिरामीहरूको भरतपुरको विभिन्न अस्पतालमा उपचार भएको थियो ।