सुजन काफ्ले
चरीकोट, पुस २ गते । दोलखा सदरमुकाम चरिकोटमा लाग्ने हाटबजार जिल्लाकै पुरानो हाटबजार हो । तर अहिलेसम्म हाटबजार व्यवस्थित हुन सकेको छैन । गाउँ गाउँबाट स्थानीयहरूले उत्पादन गरेको हरियो तरकारी, फलफूल, मकै, कोदो लगायतका बस्तुहरू सडकै ओगटेर बिक्री गर्नुभएपछि दुर्घटना बढेको छ ।
हप्ताको प्रत्येक शनिबार चरिकोट सातदोबाटो चोकमा हाट लाग्ने गर्छ । सडकमै लाग्ने हाटबजारमा सामान बिक्री गर्ने र खरिद गर्नेको भिड लाग्नेभएपछि आवतजावतमा समस्या बढेको स्थानीयको गुनासो छ । भीडका कारण सातदोबाटो चोक सवारीसाधनले अस्तव्यस्त र सडक जाम हुनेगरेको छ ।
भीमेश्वर नगरपालिकाले चरिकोटको हाटबजार व्यवस्थित गर्न सकेको छैन । सोही कारण उपभोक्ताहरू सडकमै तरकारी तथा दैनिक उपभोग्य सामान खरिद गर्न बाध्य छन् । हाट लाग्ने ठाउँ अभाव रहेकाले यहाँ बजार सडकमै लाग्नेगरेको छ । यहाँका व्यापारी तथा किसान सडकमै बसेर सामान बेच्ने गरेका छन् । सडकमा उड्ने धुलोले बजारको हरियो तरकारीलाई ढपक्क ढाक्नेगरेको छ ।
व्यस्त रहने सडक ओगटेर बजार लगाइँदा दुर्घटनाको समेत जोखिम बढेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले बताउनुभयो । ओरालो सडक छ, त्यही सडक नै ओगटेर बजार लाग्नेगरेको उहाँको भनाइ छ ।
चरिकोट–जिरी सडकमार्ग समेत ढाकेर यहाँ बजार लाग्दैआएको छ । बजारमा तरकारी लाँदा बेच्न समय लाग्ने तर सडकमै राख्दा तुरुन्त बिक्री हुने स्थानीय किसान कृष्ण अधिकारीले बताउनुभयो । सडकमा बजार लाग्दा पनि बजार व्यवस्थित बनाउन भीमेश्वर नगरपालिकाले खासै चासो नदिएको उपभोक्ताले गुनासो गर्नेगरेका छन् ।
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले कालिन्चोक माध्यमिक विद्यालय अगाडिको क्षेत्रमा हाटबजार व्यवस्थापन गर्ने तयारी भइरहेको र अब बस्ने कार्यपालिकाको बैठकमा सो बारे निर्णय गरिने उहाँले बताउनुभयो ।