• १२ मंसिर २०८१, बुधबार

हवाई उद्धारले घट्यो मातृशिशु मृत्युदर

blog

बनेपा समाचारदाता

बनेपा, पुस २ गते । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुले समयमै उपचार नपाउँदा ज्यान गुमाउनु पर्दथ्यो । पछिल्लो दुई वर्षयता महाभारत गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार कार्यक्रम लागू भएपछि गाउँपालिकाको मातृशिशु मृत्युदरसमेत घटेको छ ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा लागू भएपछि थुप्रै आमा तथा शिशुको ज्यान जोगिएको बताउनुभयो । “यो कार्यक्रम लागू नहुँदा गाउँपालिका तथा गर्भवती, सुत्केरी महिलाको परिवारले हवाई उद्धारको भाडा तिर्नुपर्ने बाध्यता थियो । कतिपय व्यक्तिमा हवाई भाडा तिर्न नसक्ने बाध्यताका कारण सुत्केरी आमा तथा नवजात शिशुको ज्यान जान्थ्यो, पछिल्लो समय कार्यक्रम कार्यान्वयनमा आएसँगै मातृशिशु मृत्युदर घटेको छ,” उहाँले थप्नुभयो । अध्यक्ष जिम्बाले कार्यक्रम लागू भएपछि वार्षिक गाउँपालिकाभित्रका जोखिम अवस्थामा रहेका पाँच÷छ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार भएको बताउनुभयो ।

उहाँले गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका तथा सुत्केरी भए पनि सालनाल ननिस्केका महिलाको हेलिकोप्टरमार्फत उद्धार हुन थालेपछि गर्भवती, सुत्केरी तथा नवजात शिशुको ज्यानै जाने जोखिम घटेको बताउनुभयो । यसैगरी महाभारत गाउँपालिका–१, गोकुलेका दिलदास श्रेष्ठले महाभारत गाउँपालिकाभित्र गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रम लागू भएपछि थुप्रै आमा र नवजात शिशुको ज्यान जोगिएको बताउनुभयो । “पछिल्लो समय पालिकाभित्र स्वास्थ्य क्षेत्रमा सुधार आएको छ । गर्भवती जाँच र सुत्केरी गराउनका लागि सदरमुकामसम्म जानुपर्ने बाध्यता थियो, उक्त बाध्यता हटेको छ भने सुत्केरी हुन नसकेर थुप्रै महिला तथा शिशुको मृत्यु हुन्थ्यो । पछिल्लो समय हवाई उद्धार कार्यक्रम लागू भएपछि मातृशिशु मृत्युदर घटेको छ,” श्रेष्ठले थप्नुभयो ।

उहाँले हवाई उद्धार कार्यक्रम कार्यान्वयनपूर्व गर्भवती तथा सुत्केरी महिलामा अत्यधिक रक्तस्राव भएर ज्यान गुमाउनु परेको स्मरण गर्दै पछिल्लो समय उक्त अवस्था नरहेको बताउनुभयो । महाभारत गाउँपालिका–४ का राजन तामाङले भौगोलिक विकटता रहेको गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम लागू भएपछि वडा तथा गाउँपालिकाभित्रका थुप्रै महिला र नवजात शिशुले पुनर्जीवन पाएको बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ (संशोधित २०७७)मा जिल्लाको महाभारत र चौँरीदेउराली गाउँपालिकाका सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क हवाई उद्धारको व्यवस्था हुने उल्लेख गरिएको छ । भौगोलिक विकटताका कारण जिल्लाको विकट खानीखोला गाउँपालिकालाई यो सुविधा उपलब्ध गराउनुपर्ने अवस्था भए पनि कार्यविधिमा उक्त गाउँपालिकालाई समावेश गरिएको छैन । महाभारत गाउँपालिकामा सहज रूपमा यातायातको सुविधा नभएका कारण बर्सेनि गम्भीर अवस्थामा रहेका बिरामी तथा सुत्केरीको तत्काल उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिँदै आएको छ । पछिल्लो तीन वर्षमा जिल्लाको महाभारत गाउँपालिकाभित्रका करिब एक दर्जन गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको छ ।