• १३ वैशाख २०८१, बिहिबार

ललितपुरबाट तोसिमा कार्की विजयी

blog

काठमाडौं, मङ्सिर ८ गते । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ। 

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार कार्की ३१ हजार १३६ मतसहित विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का अमृत खड्काले १८ हजार १६३ मत पाउनुभएको छ। कार्की खड्कालाई १२ हजार ९७३ मतले पछि पार्दै विजयी हुनुभएको हो।

ऊर्जामन्त्रीसमेत रहनुभएकी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसालले तीन हजार आठ हजार ७६९ मत मात्र पाउनुभएको छ।
पेशाले शल्यचिकित्सक कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बन्नुभएको हो।

ललितपुरकै नख्खुमा उहाँको बाल्लयकाल बितेको थियो। उहाँ किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) हुनुहुन्छ। उहाँसँग नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको अनुभव पनि छ।

उहाँ डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुनुहुन्छ।  केसीको चिकित्सा शिक्षा सुधार अभियानमा डा. कार्की सुरुबाटै सक्रिय हुनुहुन्थ्यो।

त्यसक्रममा उहाँले कानुनी लडाइँसमेत लड्नुभएको छ। उहाँकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश दिएको थियो।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार दिँदा उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापक हुनुहुन्थ्यो। पेशामा आफूले ‘गुड मेडिकल प्राक्टिस’को वकालत गरेको उहाँको भनाइ रहेको छ।

राष्ट्रिय जीवनको सबै क्षेत्रमा ‘गुड प्राक्टिस’ गर्ने नीति–निर्माणको लागि दबाव बढाउन प्रतिनिधिसभा सदस्य बन्न चाहेको उहाँको भनाइ छ।