• १६ चैत २०८०, शुक्रबार

बाँके २ मा राप्रपाका राणा विजयी

blog

नेपालगन्ज, मङ्सिर ७ गते । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो । 

विजयी हुनुभएका राणाले २९ हजार ५७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनु भएका नेपाली काँग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गर्नुभयो । 

सोही प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार ईर्फान शेषले १ हजार २८९ मत प्राप्त गर्नुभयो । विजयी हुनु भएका राणा यस अघि दुई पटक नेपालगन्ज उपमहानगरको मेयर पदमा निर्वाचित भई सक्नु भएको थियो भने पराजित हुनु भएका राईले २०७४ साल र २०६४ सालमा सांसद पदमा निर्वाचित हुनुभएको थियो । 

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै सङ्घीय सांसद राणाले यो जित सबैको भएको जनाउँदै अब सबैको सहयोग र सल्लाहमा बाँकेको विकासमा अगाडी बढ्ने बताउनुभयो । 

उता, पराजित हुनुभएका पुर्वमन्त्री राईले निर्वाचनमा हार जित हुनु स्वाभाविक भएको जनाउँदै जनताको मतलाई सम्मान गरेर बाँकेको विकास र समृद्धिका लागि सधैँ तत्पर रहने प्रतिबद्धता जनाउनुभयो । 

बाँके क्षेत्र नम्बर २ मा विजयी हुनु भएका राणा । तस्बिर : सिराज खान 

Author

सिराज खान