• ११ वैशाख २०८१, मङ्गलबार

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

blog

प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवार सोविता गौतम । तस्बिर : विकास द्वारे

काठमाडौं, मङ्सिर ७ गते । प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।

बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नम्बर २ को मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले नौ हजार ४४९ मत पाउनु भएको छ । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार ९५६ मत खसेकोमा दुई हजार ११६ मत बदर भएको थियो ।