• १६ चैत २०८०, शुक्रबार

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), मङ्सिर ६ गते । प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी हुनुभएको छ । एक लाख सात हजार ६५९ मतदाता रहेको ३ नम्बर क्षेत्रमा कुल ६३ हजार ७४० मत खसेको थियो । 

जसमध्ये चार हजार २१ मत बदर भएको छ  भने ५९ हजार ७१९ मत सदर भएको छ । सो क्षेत्रमा २३ हजार १२० मत प्राप्त गरी उन्मुक्तिका चौधरी विजयी हुनुभएको हो । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनलाई पाँच हजार ३७१ मतले पछिपार्दै विजयी हुनुभयो । गठबन्धनका उम्मेदवार कुन्दनले १७ हजार ७४९ मत प्राप्त गर्नुभयो । 

त्यसैगरी नेकपा (एमाले) का गौरीशङ्कर चौधरीले नौ हजार ८७४ मत प्राप्त गर्नुभयो ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका विरेन्द्रबहादुर बमले सात हजार ४५ मत प्राप्त गर्नुभयो । नेपाल किसान पार्टीका उम्मेदवार गङ्गादेवी पौडेलले १६१, नेपाल कम्युनिष्ट पार्टी (माले) का परेकबहादुर रावलले ९९०, स्वतन्त्र उम्मेदवार नविनकुमार बोहराले ४८४ र अर्का स्वतन्त्र उम्मेदवार रमेश आचार्यले २९६ मत प्राप्त गर्नुभयो ।  

छोटो प्रतिक्रिया दिनुहुँदै विजयी भएका उम्मेदवार चौधरीले आफूले अपेक्षा गरेको नतिजा आएको बताउनुभयो । जनताहरुले जसरी आफूलाई लोकप्रिय मत दिएर जिताउनुभयो, त्यसरी नै सल्लाह सुझाव लिएर अघि बढ्ने बताउनुभयो । 

सोमबार १२ बजेदेखि शुरु भएको प्रतिनिधि सभा सदस्यको गणना मङ्गलबार १२ बजे चौबीस घण्टामा मत गणना सकिएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताउनुभयो । दिउँसो २ बजेबाट प्रदेशसभा सदस्यको मतगणना हुने उहाँले बताउनुभयो ।