• ११ मंसिर २०८१, मङ्गलबार

लप्चीमा भोट माग्न पुग्दैनन् कोही

blog

दोलखा समाचारदाता

दोलखा, कात्तिक २६ गते । चीनको सिमानामा पर्ने दोलखाको बिगु गाउँपालिका–१ का लप्ची गाउँवासी भोट माग्नसमेत कुनै पनि राजनीतिक दलहरू नआउने गरेकोमा दुःखित छन्। 

न्यून भोट र दुर्गम ठाउँ भनी राजनीतिक दलहरूले हेला गरेर भोटसम्म पनि माग्न नआउने गरेकोमा स्थानीय कर्मा शेर्पाले दुखेसो पोख्नुभएको हो। 

उहाँका अनुसार उनीहरू विकास माग्छन् भनेर भोट माग्न नआएका होलान्। अरू सेवा त परै जाओस्, लुमनाङसम्म जाने पैदल बाटो पनि सजिलो छैन। लामाबगरबाट दुई दिन पैदल हिँडेर जानुपर्ने भएकाले अहिलेसम्म भएका कुनै चुनावमा पनि कुनै पार्टीको उपस्थिति नै छैन। सरकारले टाढा भएकाले गाउँमै मत दिने व्यवस्था गरिदिएको छ। पार्टीभन्दा पनि चिनेको उम्मेदवार भए भोट हाल्छौँ। बाध्यता भएकाले कर्मचारीहरू हन्डर खेपेरै पनि निर्वाचनका लागि यहाँ आउँछन्।