• ४ जेठ २०८१, शुक्रबार

थ्रेसरले किसानलाई राहत

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, कात्तिक २६ गते । गाउँघरमा कृषि मजदुरको अभाव हुँदै गएपछि सिन्धुली जिल्लामा पछिल्लो समयमा धानबाली भित्र्याउन किसानको रोजाइमा थ्रेसर मेसिन लोकप्रिय बन्दै गएको छ। परम्परागत रूपमा खेतालाको भरमा धानबाली भित्र्याउँदै आएका सिन्धुली जिल्लाका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेसिनप्रति आकर्षित भएका हुन्। काम गर्ने खेताला पाउनै मुस्किल र पाए पनि महँगो साथै समय पनि धेरै लाग्ने भएकाले धान भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्न थालेको किसानले बताएका छन्। 

आधुनिक थ्रेसर मेसिनले कम समय र लागतमै धान झाट्ने भएकाले जिल्लाका किसानको रोजाइमा उक्त मेसिन पर्न थालेको कमलामाई नगरपालिका–४ का किसान कृष्णबहादुर लामिछानेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “धान झार्न उक्त मेसिन केही समयअघिसम्म ठूला फाँटमा मात्रै प्रयोग हुँदै आएको थियो। अहिले ट्याक्टर जाने बाटो भएको पाखाभित्ताका खेतमा समेत प्रयोग हुन थालेको छ।”

 किसान लामिछानेले आफूले झन्डै एक बिघा खेतमा गरेको धानबाली थ्रेसर मेसिन प्रयोग गरी दुई घण्टा पनि नलगाई ४० मुरी धान झारेर भित्र्याएको सुनाउनुभयो। मुलुक यतिखेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएका बेला जिल्लामा भने यतिबेला धान पाकेकाले धान काट्ने र 

झाट्नेमा किसान व्यस्त भएका छन्। केहीकेही ठाउँमा किसानले परम्परागत रूपमा खेतला प्रयोग गरी धान झारेर भित्र्याउने गरेको स्थानीय बासिन्दाले बताएका छन्। काम गर्ने मानिस र दाइँ गर्न गोरु पनि पाउन मुस्किल हुन थालेपछि आधुनिक थ्रेसर मेसिनको प्रयोग बढ्न थालेको छ। 

दुधौली नगरपालिका–१ निवासी किसान थानराज अधिकारी भन्नुहुन्छ, “थ्रेसर मेसिनले किसानलाई निकै सहज बनाएको छ। पहिला जसरी गोरु पाइन छाडे, कामदारको अभाव छ।” कमलाखुँज क्षेत्रमा ८० प्रतिशतभन्दा बढी किसानले काम गर्न सहज भएकाले थ्रेसर मेसिन नै प्रयोग गरेको उहाँको भनाइ छ। थ्रेसरको प्रयोगले काम पनि छिटो, खर्च पनि कम, समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ। थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने भएकाले किसान  थ्रेसर  मेसिनतर्फ आकर्षित भएका हुन्। त्यस्तै दुधौली र कमलामाई नगरपालिकाका अधिकांश किसानले पनि  थ्रेसर  मेसिन प्रयोग गर्न थालेका छन्। प्रतिघण्टा थ्रेसर मेसिनले धान र पराल छुट्याएको करिब तीन हजार रुपियाँसम्म लिँदै आएका छन्। 

कमलामाई नगरपालिका–४, च्याउकोट निवासी भरत थापामगर आफूले चार वर्षअघि तीन लाख रुपियाँमा थ्रेसर मेसिन किनेको र सिजनमा धान झार्न भ्याइनभ्याइ हुने बताउनुहुन्छ। उहाँले भन्नुभयो, “तिहारपछि बिहानदेखि बेलुकासम्म एक दिन फुर्सद पाएको छैन।