• ११ असोज २०८१, शुक्रबार

बागमती प्रदेशमा निर्वाचन सुरक्षा तयारी

एक्काइस हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

blog

राममणि दाहाल

हेटौँडा, कात्तिक १८ गते । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशभित्र आवश्यक निर्वाचनलक्षित सुरक्षा तयारी पूरा गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले कार्यालयमातहतका जिल्लामा सुरक्षा रणनीति तथा परिचालनसम्बन्धी योजना तयार गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष तयारी गरेको जनाएको छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये उपत्यकाका तीन जिल्लाबाहेकका कार्यालयमातहतका १० जिल्लाका १८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा ३६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार गरिएको हो ।

निर्वाचनलाई सुव्यवस्थित, सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक पूर्वतयारीका लागि प्रहरी उपरीक्षकको संयोजकत्वमा आठ सदस्यीय प्रदेश प्रहरी निर्वाचन सेल गठन गरिएको छ । 

प्रदेश प्रहरी निर्वाचन सेलका संयोजक प्रहरी उपरीक्षक गौतम मिश्रले चारवटै सुरक्षा निकायको प्रदेशस्तरीय समन्वय बैठकबाट निर्वाचनका लागि एकीकृत सुरक्षा रणनीतिसँगै आवश्यक सुरक्षा योजना तयार गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यालयमातहतका जिल्लासँग समन्वय र सहयोग गर्ने, प्रहरी कर्मचारीलाई तालिम प्रदान गर्ने र संवेदनशील निर्वाचन क्षेत्रमा थप सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न प्रदेश प्रहरी कार्यालयले व्यवस्थापन गर्ने भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन, विगतका घटना र सम्भावित घटनालाई दृष्टिगत गरी प्रहरी परिचालन गरिने बताउँदै उहाँले भन्नुभयो, “सुरक्षा संवेदनशीलताका आधारमा हरेक जिल्लामा सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा विभाजन गरिएको छ ।”

संवेदनशीलताका आधारमा विभाजन गरिएका मतदान केन्द्र र वरपरको स्थललाई फरकफरक ढङ्गले सुरक्षा व्यवस्था मिलाइएको छ । म्यादी प्रहरीलाई निर्वाचन र सुरक्षालगायतका तालिम प्रदान गरी विभिन्न स्थानमा परिचालन गर्न सुरु गरिएको छ । 

प्रहरीलाई हतियारको व्यवस्थापनलगायत परिचालनको व्यवस्थापन पूरा भएको बताउँदै प्रहरी उपरीक्षक मिश्रले अगाडि भन्नुभयो, “प्रहरी कर्मचारीलाई निर्वाचन आचारसंहिता र निर्वाचनका बारेमा गर्नुपर्ने जिम्मेवारीका विषयमा जानकारी गराइएको छ ।”

प्रदेशका १० जिल्लामा रहेका मतदान स्थलमा सात हजार ७२२ जना नेपाल प्रहरी र १४ हजार २०५ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ ।

यस्तै निर्वाचन सुरक्षाका लागि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको अध्यक्षतामा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत सदस्य रहेको प्रदेशस्तरीय एकीकृत निर्वाचन सुरक्षा केन्द्र स्थापना गरिएको छ । 

निर्वाचनको अनुगमन, नियन्त्रण, निर्देशन र आवश्यकताअनुसारको थप सुरक्षा सहयोगको व्यवस्था, निर्वाचन अवस्थाको मूल्याङ्कनलगायतका कार्य निर्वाचन सुरक्षा केन्द्रले गर्ने भएको छ । कारागारमा रहेका कैदीबन्दीले समेत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनेछन् ।