• ११ असोज २०८१, शुक्रबार

सूर्यविनायक–धुलिखेल सडक विस्तार हुँदै

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, कात्तिक १८ गते । काठमाडौँ उपत्यकासँग जोड्ने अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्डको १६ किलोमिटर सडक विस्तारको काम सुरु हुने भएको छ । एक दशकभन्दा बढी समयदेखि नेपाल सरकारको प्राथमिकतामा परेर विभिन्न कारणले विस्तार हुन नसकेको सूर्यविनायक–धुलिखेल सडक निर्माणको काम सुरु हुने भएको हो । 

नेपाल सरकारको लगानीमा आगामी तीन वर्षभित्र सडक विस्तार गर्ने योजना रहेको सूर्यविनायक–धुलिखेल–बनेपा–सिन्धुली–बर्दिबास सडक योजना कार्यालयले जनाएको छ । 

योजना कार्यालयका इन्जिनियर कर्ण केसीले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार साँगादेखि धु्लिखेलसम्मको ८ दशमलव ५ किलोमिटर र सूर्यविनायकदेखि साँगासम्मको ७ दशमलव ५ किलोमिटर गरी दुई खण्डमा गरिने बताउनुभयो । केसीले सूर्यविनायक–धुलिखेल सडकखण्ड काठमाडौँको तीनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म बनाइएकोजस्तै चारवटा मुख्य लेन र दुईवटा सर्भिस लेन गरी छ लेन र सोही मापदण्डको बन्ने बताउनुभयो । 

“राजधानी काठमाडौँसम्म जोडिएको राष्ट्रिय राजमार्ग भएका कारण राष्ट्रिय राजमार्गका सबै मापदण्ड पूरा गरेर उक्त सडकखण्ड विस्तारको काम गरिनेछ,” केसीले थप्नुभयो । सडकको बीच भागमा मेडियन (सडक छुट्याउने भाग) रहनुका साथै सडकको दायाँबायाँ पैदल मार्गसमेत निर्माण गरिनेछ । 

करिब १० अर्ब रुपियाँ लागत अनुमान गरिएको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारपछि काभ्रेबाट राजधानीसम्म सवारी आवागमनमा सहजताका साथै राजधानीको ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने जनाइएको छ । 

राजमार्ग विस्तारका क्रममा सूर्यविनायक–धुलिखेलसम्मको विभिन्न स्थानमा सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, फुटपाथ बनाउने, सडक बत्ती, ट्राफिक बत्तीको व्यवस्थापनका साथै भक्तपुरको सिपाडोल, महादेवखोला र बनेपाको पुण्यमाता खोलामा पुल निर्माण गरिनेछ । 

इन्जिनियर केसीले अबको तीन महिनाभित्र दुवै सडकखण्डको बोलपत्र आह्वानको मूल्याङ्कन गरी ठेकेदार कम्पनीसँग सम्झौता गरी साँगादेखि धुलिखेल र सूर्यविनायकदेखि साँगासम्म दुवै स्थानबाट सडक विस्तारको काम सुरु हुने बताउनुभयो । 

यसअघि जापान सहयोग नियोग (जाइका)ले उक्त सडक विस्तारमा चासो देखाएपछि डिभिजन सडक कार्यालयले भक्तपुरले २०७६ मा सूर्यविनायकदेखि साँगासम्मको क्षेत्रको सडक खाली गर्न सडक छेउमा रहेका रुख कटान गरेको थियो । जाइकाले सडक विस्तारको कामबाट हात झिकेपछि नेपाल सरकारले आफ्नै लगानीमा सडकखण्ड विस्तारको काम अघि बढाएको हो ।