• ११ मंसिर २०८१, मङ्गलबार

काठमाडौंलाई नमुनाको सहर बनाउने प्रतिबद्धता

blog

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता प्रधान ।

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक १७ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले काठमाडौं सम्पदाको सहर भएको यसलाई नमुनाको सहर बनाइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बढ्दो राजनीतिक अहंकारका कारण पनि गठबन्धन निर्माण गर्नुपर्ने अवस्था आइपरेको बताउनुभयो । 

काठमाडौं जिल्लाको क्षेत्र नं. ६ का प्रतिनिधि सभाका उम्मेदवार प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनका गठबन्धन जरुरी भएको बताउनुभएको छ । संविधानकै रक्षाका लागि राजनीतिक दलहरु काँग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उहाँले बताउनुभयो ।

घरदैलो अभियानको क्रममा मतदाताहरु खासै उत्साहित हुन नसकेको आफूले अनुभव आफूले गरेको नेता प्रधानले उल्लेख गर्नुभयो । जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता हरिसिंह केसी, बरिष्ठ पत्रकार तेजप्रकाश पण्डित, कुलचन्द्र वाग्लेलगायतले निर्वाचनमा कांग्रेसले विगतको साखलाई समेत जोगाएर निर्वाचनबाट नयाँ उचाई हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

यसैगरी,  नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले सामाखुशीमा स्थापना गरेको चुनावी सम्पर्क कार्यालयको आज साँझ उद्घाटन गर्दै उहाँले “दुई तिहाई जनमत प्राप्त गरेको नेकपा सरकारले काम गर्न नसकेका कारण वर्तमान गठबन्धन निर्माण भएको हो”,  उहाँले भन्नुभयो । पूर्वमन्त्री प्रधानले काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताउनुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा (१) का उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई जिताउन युवा र महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पद र इच्छाशक्ति भए काठमाडौँ क्षेत्र नं ६ को विकास गर्न सकिने स्पष्ट पार्नुभयो । नेपाल तरुण दल काठमाडौं महानगरपालिका–२६ का पूर्वअध्यक्ष कृष्ण लामाले काठमाडौं क्षेत्र नं ६ को विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।