• ११ मंसिर २०८१, मङ्गलबार

पाठशाला टोलका दलित बस्तीमा आएन परिवर्तन

blog

आरनमा काम गर्नुहुँदै गणेश बिक । तस्विरः बाबुराम शर्मा

दोलखा, कात्तिक १२ गते । मुलुकमा व्यवस्था फेरिए पनि दोलखाको भीमेश्वर नगरपालिका–७ को पाठशाला टोलको दलित बस्तीमा परिवर्तन नआएको उनीहरूको गुनासो रहेको छ । 

परम्परागत आरनमा हँसियाको दाँत काट्दै गर्नुभएका ६८ वर्षीय गणेश विकले पुर्खादेखि सिकेको काम यही रहेको गुनासो पोख्दै आरन सुधारका लागि स्थानीय तहमा बजेट आउने गरेता पनि पहुँच नहुँदा पाठशाला टोलका आरनहरू परम्परागत नै रहेका बताउनुभयो । 

खासै आधुनिक प्रविधिको प्रयोग यहाँ प्रयोग भएको छैन । पाठशाला टोल हुँदै करिब १५ वर्ष अगाडि निर्माण भएको कच्ची बाटो अहिले पनि यथावत् छ । बर्सातको समयमा कोही बिरामी भए एम्बुलेन्स आउँदैन । स्ट्रेचरमा बोकेर लैजानुको विकल्प छैन । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आइरहेको छ । पहिले जस्तै आश्वासनका पोका बाँड्ने अनि जितेपछि फर्केर नआउने नेताहरूको भीड अब पुनः बस्तीमा देखिने पाठशाला टोलका चन्द्र विकले बताउनुभयो । 

निर्वाचनको बेला सिँचाइ, खानेपानी, पक्की सडकलगायत व्यवस्था गरिदिने फुस्रा आश्वासन नेताले दिने गरेको तर जितेपछि फर्केर हेर्ने नगरेको गुनासो गर्दै उहाँले भन्नुभयो, गाउँमा अझै परम्परागत आरनमा बुढापाकाले काम गर्ने गरेको तथा आफूहरूलाई पायक नपर्ने ठाउँ भुलभुले भन्ने ठाउँमा आधुनिक आरन बनाएकाले त्यहाँ गएर काम गर्न सकिएको छैन । गाउँमा परिवर्तन नआउँदा जीवनमा पनि आएको छैन । 

बस्तीमा जमिन कम छ, थोरै जमिनमा पनि तरकारी खेती गर्ने गरेका छन् । सिँचाइको राम्रो व्यवस्था छैन । सीता विकले भन्नुभयो, सिँचाइको प्रबन्ध गरिदिन्छौँ भन्ने थुप्रै भए  तर माखो मरेन । अहिलेका वडाध्यक्षले केही गरिदिनु हुन्छ कि ? 

बस्तीमा खानेपानीको पनि राम्रो प्रबन्ध छैन । करिब १५ वर्ष अगाडि निर्माण गरिएको सडक कालोपत्रे भइदिए आवागमन र उत्पादित तरकारी बजारसम्म पुर्‍याउन सहज हुने थियो । दुर्गा कटुवालले यो सडकको अवस्था सुधार नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

गाउँका युवा जनशक्ति विदेश पलायन भएका छन् । गाउँमा बसेकाहरूले दुःख गरेर उत्पादन गरेको तरकारी बजारसम्म लान नसक्दा बिचौलियाको मोज भएको गुनासो दिनेश विकले गर्नुभयो । 

पहिले पाठशाला रहेकाले यसैका नामबाट बनेको यो बस्तीमा १५ घर दलित परिवार बस्छन् । दुई जना अहिले स्नातक तहमा अध्ययनरत छन् । गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा स्नातक तहमा अध्ययन गरिरहनुभएका कृष्ण कटुवालले पाठशाला टोलमा निर्वाचनका समयमा नेताहरूबाट आश्वासन बढी आउने तर निर्वाचन सकिएपछि कुनै काम नहुने अवस्था रहेको बताउनुभयो । 

व्यवस्था परिवर्तन भई नेपालको संविधान २०७२ लागू भएपछि आफूहरूको जीवनस्तरमा कुनै परिवर्तन नआएको तर नेताहरूको जीवनस्तरमा भने ठुलो परिवर्तन आएको दाबी गर्दै उहाँले भन्नुभयो, जनताका पक्षमा साँच्चै काम गरी उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउने खालको नेता छान्न आवश्यक देखिएको छ । यो पटकको निर्वाचनमा भोट माग्न आउनेहरूलाई स्थानीयले विगतमा नेताहरूले गरेका वाचा किन पूरा भएनन् भनेर दरो प्रश्न गर्नुपर्छ । र्याखर्याखती पार्नुपर्छ । बाध्यता पनि बनाउनु पर्छ । सोझो औँलाले घिउ आउँदैन भनेर बुढापाकाले त्यसै भनेका होइन रहेछन् ।

Author

बाबुराम शर्मा