• १३ असोज २०८१, आइतबार

बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै

blog

ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर १ को स्वास्थ्य चौकीमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै स्वास्थ्यकर्मी । तस्बिर : केशब गुरुङ

तस्बिर : केशब गुरुङ  

काठमाडौं, कात्तिक २ गते। बुधबार र बिहीबार  देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत  बुधबार र बिहीबार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। 

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य  छ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ। सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्ने गरेको छ।

सरकारले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।