• ६ वैशाख २०८१, बिहिबार

म प्रधानमन्त्रीको दौडमा छैन : अध्यक्ष प्रचण्ड

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भरतपुरमा चाडपर्वको अवसरमा शुभकामना सम्बोधन गर्नुहुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, असोज १० गते ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले भरतपुरमा सोमबार आयोजना गरेको दशैँ तिहार लगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रचण्डले केही वर्षदेखि नै प्रधानमन्त्रीको दौडमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता बनाएर अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर आएको थियो, अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु ।’’


राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको दाबी गर्नुभयो । ‘‘मङ्सिर ४ मा चुनाव आउँदैछ, यहाँ प्रधानमन्त्रीको कुरा पनि आएको छ म प्रधानमन्त्रीको दौडमा छैन सबैलाई जानकारी गराउँछु,’’ उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले थप्दै भन्नुभयो, ‘‘मङ्सिर ४ मा हुने निर्वाचनलाई कसरी सफल र सक्षम व्यक्तिले जित्ने भन्ने तर्फ लाग्नुपर्दछ अहिले नै यो प्रधानमन्त्री भन्ने प्राथमिकता होइन ।  निर्वाचनमा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको र जनताको चाहना नै सबैभन्दा ठूलो हो । अब आर्थिक क्रान्तिको दशक बनाउने हो । हिजो जनयुद्धबाट हामी शान्ति प्रक्रियामा आयौँ र मुलुकलाई शान्ति र स्थिरता दियौँ अब हामीले रूपान्तरण गर्ने जमर्को गरेका हौँ ।’’

सबै राजनीतिक पार्टी मिलेरै यहाँको आर्थिक सुधार गर्नुपर्ने उहाँको तर्क छ । खर्बौँका परियोजना नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने योजनामा आफू रहेको उहाँले बताउनुभयो । ‘‘नेपाललाई आर्थिक रूपमा सक्षम बनाउने अभिभारा हाम्रो काँधमा आएको छ यसलाई बुझेका छौँ । यहाँको विकासलाई लिएर म चिन्तित छु ।,’’ उहाँले भन्नुभयो ।

कार्यक्रममा उहाँले प्रत्येक ठूलो क्रान्ति र परिवर्तनपछि प्रति क्रान्ति हुने खतरा हुने बताउनुभयो । पार्टीलाई बदनाम गर्ने व्यवस्था उल्ट्याउने खतरा बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

लोकतन्त्रको पक्षमा लड्ने व्यक्तिलाई आक्रमण गर्ने, सामाजिक सञ्जालमा गालीगलौज गर्ने परिपाटी भएको छ यस्तो कार्य ठिक होइन उहाँले भन्नुभयो ।  समाजलाई कुन बाटोमा लैजाने भन्ने जनमत मिडियाले निर्माण गर्ने भएकाले सभ्य समाज निर्माणमा प्रेसको भूमिका रहेको अध्यक्ष दाहालले बताउनुभयो । मिडियाले अग्रगमन तर्फ चेतना दिन सकेमा समाज निर्माणमा सफलता प्राप्त हुने विश्वस्रत व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठलगायतले जनताको समस्या र आर्थिक समृद्धितर्फ नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।