• १६ चैत २०८०, शुक्रबार

हात्तीको आक्रमणले महिलाको मृत्यु

blog

फाइल तस्बिर

वसन्त पराजुली

भरतपुर, साउन २० गते  । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । निकुञ्जसँगै रहेको दक्षिणकाली मध्यवर्ती वरण्डाभार क्षेत्रमा घाँस काट्न जानु भएकी भरतपुर महानगरपालिका ६ देवनगरका माया विकको हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । 

शुक्रबार दिउँसो करिव १ बजे घाँस काट्न गएकाबेला विकलाई हात्तीले आक्रमण गरेको थियो । उहाँको घटना स्थलमै मृत्यु भएको आचार्यले बताउनुभयो । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र यसका आसपासका वन क्षेत्रमा हात्ती, बाघ, गैँडाजस्ता जनावरको आक्रमण बढ्दैगएको छ । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको एक वर्षमा निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको आक्रमणले १६ जना, गैँडाको आक्रमणले ५ जना र हात्तीको आक्रमणले ४ जनाको मृत्यु भैसकेको छ ।