• १८ फागुन २०८२, सोमबार

निर्वाचन सामग्री बुझेर मतदान स्थलमा खटिए कर्मचारी

blog

निर्वाचन कार्यालय भरतपुरबाट निर्वाचनसम्बन्धी आवश्यक सामग्री बुझ्दै कर्मचारी । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, फागुन १८ गते । प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारीले आज सामग्री बुझेर मतदान केन्द्रमा जान थालेका छन् । 

चितवनको तीनवटै निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न मतदान स्थल तथा केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन कार्यालयमा आवश्यक सामग्री बुझ्ने काम भइराखेको छ । निर्वाचनमा खटिने कर्मचारीले ५१ प्रकारका सामग्री बुझेर आफ्नो स्थनमा आज जाने जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिनुभयो । 

जिल्लाको सदरमुकामबाट टाढा मतदान स्थलमा खटिएका कर्मचारीले आज साँझसम्म त्यस स्थानमा पुगेर आवश्यक तयारी गर्ने छन् । सदरमुकामबाट नजिक रहेका कर्मचारीहरूले साँझसम्म सामग्री बुझेर लैजाने र सोही स्थानमा बस्ने निर्वाचन अधिकारी कार्कीले जानकारी दिनुभयो । 

कर्मचारीले मत पेटिका बाकस, मसी, स्टाम्प प्याड, मतपत्र, स्केल, कलम लगायतका सामग्री बुझेर लैजाने छन् । मतदान स्थलमा सुरक्षाकर्मी खटिसकेको छ । मतदान स्थलमा पुगेपछि त्यहाँ मतदातालाई मतदान गर्नका लागि स्थलको व्यवस्थापन तथा निर्माण कार्य गर्ने निर्वाचन अधिकारी कार्कीले जानकारी दिनुभयो ।