• १८ फागुन २०८२, सोमबार

कास्कीमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइयाे

blog

मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री हस्तान्तरण गर्दै प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपाने । तस्बिर : गोरखापत्र

फाडिन्द्र अधिकारी

लेखनाथ, फागुन १८ गते । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार बिहानदेखि मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री हस्तान्तरण गरेको छ । कास्कीका एक सय ५३ वटै मतदान स्थलका अधिकृतलाई सामग्री वितरण गरिने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । कास्कीमा तीन सय ६३ मतदान केन्द्र कायम गरिएको छ ।

कार्यालयले अहिले ७९ प्रकारका सामग्री वितरण गरिरहेको छ । “अहिले कास्कीका चार गाउँपालिकाका निर्वाचन अधिकृतहरूलाई सामग्री हस्तान्तरण हुँदै छ,” न्यौपानेले भन्नुभयो, “गाउँपालिकाहरूको सकिएपछि पोखरा महानगरपालिकाका निर्वाचन अधिकृतहरूलाई सामग्री हस्तान्तरण गर्छाैं ।” निर्वाचनमा मतपेटिका, औंलामा चिन्ह लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी आवश्यक पर्छन् ।

कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची जस्ता सामग्री निर्वाचनका लागि चाहिन्छ । निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारम लगायत सामग्री पनि चाहिन्छ । 

कास्कीका तीन क्षेत्रमा ४९ उम्मेदवार मैदानमा छन् । कास्की जिल्लामा मात्रै तीन लाख आठ हजार पाँच सय ७२ मतदाताले मताधिकार प्रयोग गर्ने छन् । निर्वाचन अधिकृतको कार्यालयले कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थलसमेत तय गरेको छ । क्षेत्र नम्बर १ को मतगणना पोखरा महानगरपालिका १५ को वडा कार्यालय, क्षेत्र नम्बर २ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय मालेपाटन र क्षेत्र नम्बर ३ को मतगणना पोखरा सभागृहमा हुने गरी व्यवस्थापन मिलाइएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकी प्रदेशको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् । जसमा नौ लाख ५५ हजार दुई सय ५१ पुरुष, नौ लाख १४ हजार आठ सय महिला र १४ जना अन्य मतदाता छन् । 

प्रदेशभर एक हजार दुई सय ९९ मतदानस्थल र दुई हजार तीन सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गराउन प्रदेशभर १४ हजार तीन सय ५० कर्मचारी र सात हजार ६५ जना स्वयंसेवक परिचालन गरिएको छ ।