गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन १८ गते । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको बताउनुभएको छ ।
आज देशबासीको नाममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुहुँदै कुनै किसिमको भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ । मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न उहाँले देशवासीलाई आग्रह गर्नुभएको छ ।
“आज देशवासीलाई के कुरामा आश्वस्त पार्न चाहन्छु भने मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन । कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन” उहाँले भन्नुभयो ।
निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ । यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु भन्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ । निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् ।”
देश फेरि इतिहासको महत्वपूर्ण मोडमा आइपुगेको उहाँले बताउनुभयो । “आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ ।” जेनजी आन्दोलनपछिको परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण भए पनि निर्वाचनमार्फत मुलुकले निकास पाउने उहाँको भनाइ छ ।
“आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ” भन्नुहुँदै उहाँले उपलब्धि तपाई–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो, भन्नुभयो ।
देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन सबै मतदाता आगामी निर्वाचनमा सरिक हुन उहाँले आग्रह गर्नुभएको छ । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, उहाँले भन्नुभयो “यो त तपाईले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।”
“फागुन २१ गते बिहीबारको दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु” उहाँले भन्नुभयो, “निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु । शान्ति नै नेपालको असली पहिचान हो ।”
‘म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु’ उहाँले थप्नुभयो, “तपाईहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो ।”
मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक–अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार–प्रसार गर्न उहाँले आग्रह गर्नुभएको छ । “यस महान कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु । तपाईहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ” उहाँले भन्नुभएको छ ।
निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको बताउँदै उहाँले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग गरेको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो, “नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन् । राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।”
छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको उहाँले बताउनुभयो । निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रलाई धन्यवाद दिनुहुँदै उहाँले संयुक्त राष्ट्र संघीय निकायबाट प्राप्त सहयोगका लागि पनि उहाँले आभार व्यक्त गर्नुभयो ।
“निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ। यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु” उहाँले थप्नुभयो, “यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ । निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् ।”
आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले चिन्तित बनाएको उहाँले बताउनुभयो । विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै उहाँले भन्नुभयो, “त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठुलो चासोको विषय हो ।”
सरकार हरदम साथमा रहेको बताउँदे उहाँले भन्नुभयो, “नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।”
इतिहासको कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफूले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको बताउनुहुँदै उहाँले थप्नुभयो, “मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ । अब केही दिनमा यो देशको बागडोर तपाईहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ ।”