राजन रावत
हुम्ला, फागुन १८ गते । फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट ढुवानी गरिएको हो भने मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।
हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–६, लिमीमा कर्मचारी, सुरक्षाकर्मी, मतपत्र तथा अन्य निर्वाचन सामग्री हेलिकोप्टरबाट पुर्याइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिनुभयो।
जिल्ला सुरक्षा समिति र भौगोलिक व्यवस्थापन समितिको निर्णयअनुसार लिमीका तीन वटा मतदान केन्द्र तथा चालाको मतदान केन्द्रमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था गरिएको हो।
लिमीका तीन मतदान केन्द्र—हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङ—मा तीन सयभन्दा कम मतदाता रहेका छन्। ती मतदान केन्द्रमा मतदान अधिकृतसहित १५ जना कर्मचारी तथा ५१ जना नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन्।
लिमीका मतदान केन्द्रका लागि कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टरले तीन उडान गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो।
त्यस्तै, नाम्खा गाउँपालिका–४ स्थित हिमालय आवि चाला मतदान केन्द्रमा खटिएका कर्मचारीलाई पनि नेपाली सेनाको सानो हेलिकोप्टरमार्फत पाँच उडान गरी पुर्याइएको उहाँले जानकारी दिनुभयो। सो मतदान केन्द्रमा पाँच जना कर्मचारी, तीन जना नेपाल प्रहरी र १० जना निर्वाचन प्रहरी खटिएका छन्।
दुर्गम भूगोलका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट पठाइए पनि मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।