• १८ फागुन २०८२, सोमबार

निर्वाचनमा खटिएका कर्मचारीलाई नियुक्ति पत्र वितरण

blog

मतदान केन्द्रमा खटिएका कर्मचारीहरु नियुक्ति पत्र बुझ्दै । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, फागुन १८ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका मतदान केन्द्रहरुमा खटिने कर्मचारीलाई नियुक्ति पत्र वितरण गरिएको छ । जिल्लाका ४०३ मतदान केन्द्रमा खटाइएका दुई हजार ४१८ जना कर्मचारीलाई नियुक्तिपत्र वितरण गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्ज र निर्वाचन अधिकृतका कार्यालयहरुले नियुक्तिपत्र वितरण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले मतदान अधिकृत र सहायक मतदान अधिकृतले तालिमअघि नै नियुक्तिपत्र बुझिसकेको जनाउँदै बाँकी सहायकस्तरका कर्मचारीलाई अहिले नियुक्तिपत्र वितरण गरिएको बताउनुभयो ।

उहाँले नियुक्तिपत्र प्राप्त गरेपछि कर्मचारीहरू आफ्नो जिम्मेवारीअनुसार तोकिएको मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित खटिने बताउनुभयो । सहायक निर्वाचन अधिकृत कार्कीका अनुसार निर्वाचनलाई स्वतन्त्र र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक जनशक्ति व्यवस्थापन लगायतको तयारीहरु पुरा गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँके जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीअन्तर्गत १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ । बाँकेमा तीन लाख ५० हजार ३७१ मतदाता छन् । जसमध्ये एक लाख ७२ हजार २२३ महिला, एक लाख ७८ हजार ३३९ पुरुष र नौ जना अन्य मतदाता रहेका छन् ।

निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीका अनुसार प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारी खटाइएको छ भने आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीलाई समेत परिचालन गरिनेछ । उहाँले सोमवारदेखि निर्वाचन सामग्री दिएर कर्मचारीहरुलाई मतदान केन्द्रतर्फ पठाइने बताउनुभयो ।