अमरराज नहर्की
तनहुँ, फागुन १८ गते । निर्वाचन नजिकिँदै जाँदा तनहुँका दुवै क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य नयाँ उम्मेदवारबिच बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो उपनिर्वाचनमा आमनेसामने भएका नेपाली कांग्रेसका गोविन्द भट्टराई र रास्वपाका स्वर्णिम वाग्ले पुनः प्रतिस्पर्धामा उत्रिँदा नेकपा (एमाले) ले पूर्वमन्त्री भगवती न्यौपानेलाई मैदानमा उतारेको छ ।
सो क्षेत्रमा निर्वाचनलाई थप प्रतिस्पर्धी बनाउन कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो उपनिर्वाचनमा जोशी समूहले रास्वपाका वाग्लेलाई समर्थन गरेकाले वाग्लेलाई जित सहज भएको विश्लेषण गरिएको थियो । यस पटक जोशी स्वन्तत्र रूपमा उम्मेदवार बन्नुभएको छ । यस क्षेत्रमा रास्वपाका वाग्लेले अघिल्लो पटक जित हात पारे पनि यस पटक धेरै उम्मेदवाको प्रतिस्पर्धा झेल्नुपर्ने देखिएको छ ।
त्यसै गरी निर्वाचन क्षेत्र नम्बर २ मा यस पटक पुराना स्थापित दल र नयाँ उदय भएको शक्तिबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०४८ यताका संसदीय निर्वाचनमा पाँच पटक नेकपा (एमाले) र दुई पटक नेपाली कांग्रेसले जित हासिल गरेको यस क्षेत्रमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका अन्य दलका उम्मेदवार मुख्य चुनौतीका रूपमा देखा परेका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसका शङ्कर भण्डारी र नेकपा (एमाले) का केदार सिग्देलबिच नै मुख्य भिडन्त हुने आकलन यहाँका स्थानीयले गरेका छन् । यो क्षेत्रमा पुराना दलहरू कांग्रेस र एमालेका लागि यस पटक रास्वपाका उम्मेदवार श्रीराम न्यौपाने चुनौती दिन चुनावी मैदानमा उत्रिएका छन् ।