गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १८ गते । काठमाडौँको कालीमाटीका २५ वर्षीय सुनील मानन्धर पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । उहाँले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा देशलाई समाल्ने नेतृत्वको खोजी भएकाले सोहीबमोजिम मतदान गर्ने बताउनुभयो । अघिल्लो निर्वाचनमा मतदाता नामावली नै नभरेका युवा मानन्धरले यस पटक फागुन २१ गतेको निर्वाचनमा मतदान गर्नकै लागि नामावली भर्नुभएको हो ।
उहाँले जेनजी आन्दोलनको भावना, देशको समुन्नति र आर्थिक विकासको पक्षमा राजनीतिक दलले काम गर्नुपर्ने र नयाँ पुरानाभन्दा पनि मुद्दामा केन्द्रित रहेर बहस गर्ने नेतृत्व छान्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उम्मेदवार आइरहेका छन् । भोट माग्न आउनेलाई प्रश्न गरिरहेको छु । जसले म जस्ता युवाको भावनालाई सम्बोधन गर्ने ताकत राख्छ, उसैलाई मेरो मत हुन्छ ।”
काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका वडा समेटिएको काठमाडौँ क्षेत्र नं. ८ मा १७ वटा राजनीतिक दल र पाँच स्वतन्त्र उम्मेदवार गरी २२ जनाको उम्मेदवारी परेको छ । जसमध्ये आदिवासी जनजाति (आज) समुदायबाट ७७.२७ प्रतिशत उम्मेदवारी परेको छ । खसआर्य समुदायबाट १३.६४, दलित समुदायबाट ४.५५ र मधेशी समुदायबाट ४.५५ प्रतिशत प्रतिनिधित्व छ । काठमाडौँ क्षेत्र नं. ८ मा २९ हजार ८९८ महिला र २७ हजार ९१३ पुरुष गरी ५७ हजार ८११ मतदाता रहेका छन् ।
प्रमुख दलबिच प्रतिस्पर्धा
काठमाडौँ क्षेत्र नं. ८ मा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका प्रमुख दलबिच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसले सपना राजभण्डारी, नेकपा (एमाले) ले राजेश शाक्य, नेपाली कम्युनिस्ट पार्टीले सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीले विराजभक्त श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । २०७९ निर्वाचनमा रास्वपाका श्रेष्ठ निर्वाचित हुँदा नेता सायमी निकटतम प्रतिस्पर्धी हुनुभएको थियो ।
जनता समाजवादी पार्टी नेपालले सरोजराज वैद्य, नेकपा (संयुक्त) ले राजेन्द्रप्रसाद शाह, नेपाल मजदुर किसान पार्टीले बन्दना श्रेष्ठ, नेपाल सङ्घीय समाजवादी पार्टीले विजय डङ्गोल, राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन शाही, आमजनता पार्टीले खगेश रञ्जितकार, नेपाल जनता संरक्षण पार्टीले दिनेश शाहीलाई उम्मेदवार बनाएका छन् । श्रम संस्कृति पार्टीले शिवसुन्दर कर्माचार्य, संयुक्त नागरिक पार्टीले रेशमबहादुर सुनार, नेकपा (माओवादी) ले सलामसिंह लामा, उज्यालो नेपाल पार्टीले राजन खड्गी, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले छत्रकुमार पाख्रिन, राष्ट्रिय मुक्ति पार्टी नेपालले मुक्तिनाथ शर्मालाई उम्मेदवार बनाएको छ । त्यसै गरी स्वतन्त्रतर्फ विकास खड्गी, तुलसा श्रेष्ठ महर्जन, सुनिता महर्जन, सुशीला नेपाली र मुना न्यौपाने (पाण्डे) उम्मेदवार बन्नुभएको छ ।
उम्मेदवारका मुद्दा
राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले स्थानीयसँगै राष्ट्रका मुद्दा उठाएका छन् । उम्मेदवारले जेनजी आन्दोलनको भावनालाई संस्थागत गर्ने, सम्पदा, संस्कृति र सभ्यतालाई साझा सम्पत्तिका रूपमा संरक्षण गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्ने र प्रविधिको विकासमा जोड दिनेसहितका मुद्दा अघि सारेका छन् । त्यसै गरी उम्मेदवारले सहकारी, लघुवित्तपीडितको रकम फिर्ता र दोषीलाई कारबाही, गुठी, भूमि समस्या समाधान गर्ने, सुकुमवासी समस्या समाधान गर्न पहल गर्ने, आदिवासी, जनजाति र स्थानीय समुदायको भाषा, संस्कृति, सम्पदा र मौलिकताको रक्षा गर्ने तथा दलित, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विशेष अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यसै गरी वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दिगो र सामुदायिक स्वामित्वमा आधारित व्यवस्थापन गर्ने, स्वच्छ खानेपानी वितरणमा सहज र सुनिश्चित गर्ने, पर्यावरणमैत्री, पर्यटनमैत्री, सुरक्षित र व्यवस्थित सहरीकरणको रोडम्याप निर्माण गरी पर्यटकीय क्षेत्र विकासका लागि व्यवसायमैत्री नीतिगत व्यवस्था गर्ने र सार्वजनिक यातायातको सुदृढीकरण, काठमाडौँलाई सम्पदा सहरका रूपमा विकास गर्ने मुद्दा उम्मेदवारले उठान गरेका छन् ।