• १७ फागुन २०८२, आइतबार

निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउँछौँ : गृहमन्त्री अर्याल

blog

बझाङ पुग्नुभएका गृहमन्त्री ओमप्रकाश अर्याललगायत सुरक्षा अधिकारी ।

सुरेश धामी

बझाङ, फागुन १७ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन बझाङ पुग्नुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताउनुभएको छ।

आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत बझाङ पुग्नुभएका गृहमन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखसँग छलफल तथा स्थलगत जानकारी लिनुभएको थियो।

त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले बझाङमा विगतका निर्वाचनमा देखिएका कमी–कमजोरी यसपटक दोहोरिन नदिने स्पष्ट पार्नुभयो।

“विगतका निर्वाचनमा भएका गल्ती–कमजोरी यसपटक दोहोरिन दिनु हुँदैन। जे–जति जनशक्ति र स्रोत–साधन उपलब्ध छन्, त्यसको अधिकतम उपयोग गरेर निष्पक्ष, पारदर्शी र विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गर्छौँ,” उहाँले भन्नुभयो।

उहाँले प्रशासनिक संयन्त्र सक्षम, सजग र निष्पक्ष रहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। विगतमा देखिएका धाँधलीजन्य गतिविधिप्रति सङ्केत गर्दै गृहमन्त्री अर्यालले यस्ता कार्य कदापि सह्य नहुने बताउनुभयो। “भौगोलिक विकटता वा अन्य कुनै बहानामा अर्काको नाममा मतदान गर्ने, मृत व्यक्तिको नाममा भोट हाल्ने तथा बुथ कब्जा गर्नेजस्ता गतिविधि यसपटक दोहोरिन दिँदैनौँ,” उहाँले भन्नुभयो।

निर्वाचनविरोधी गतिविधिमा संलग्न जोकोहीलाई कानुनी कारबाही गरिने उहाँको भनाइ छ। “त्यो चाहे राष्ट्रसेवक होस्, सर्वसाधारण, मतदाता वा दलका प्रतिनिधि—निर्वाचनविरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कानुनको दायरामा ल्याउँछौँ। गैरकानुनी काम गर्नेलाई कारबाही हुन्छ,” उहाँले भन्नुभयो। गृहमन्त्री अर्यालले कानुन संसदबाट बनेको र वैधानिक प्रक्रिया अनुसार कार्यान्वयनमा रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई कानुनी प्रावधानबारे सचेत रहन आग्रह गर्नुभयो। “कानुनले सबै कुरा निर्देशित गरेको छ। जान्दाजान्दै कसैले गैरकानुनी गतिविधि गरे कारबाही अनिवार्य हुन्छ। हामी समन्वयात्मक ढङ्गले काम गर्छौँ,” उहाँले भन्नुभयो।

उहाँले सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवालालाई स्वच्छ, स्वस्थ र प्रतिस्पर्धात्मक वातावरण कायम राख्न सहयोग गर्न आग्रह गर्नुभयो। निर्वाचनमा गलत हर्कत गर्ने जोकोहीलाई पनि कानुन अनुसार कारबाही हुनेमा उहाँले जोड दिनुभयो।

गृहमन्त्रीको भ्रमणलाई निर्वाचन सुरक्षाको सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। सुरक्षा निकायले जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा सरकार शान्तिपूर्ण र विश्वसनीय मतदान सुनिश्चित गर्न केन्द्रित रहेको गृहमन्त्री अर्यालको भनाइ छ।